समाचार

उपचार खर्च नहुँदा ओछ्यानमै रुन्छन् चन्द्रबहादुर दर्जी

गलेश्वर । सानैमा दायाँ हात र खुट्टाले काम नगरेपछि म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुङकोट फापरखेतका चन्द्रबहादुर दर्जी बायाँ हात र बायाँ खुट्टाको भरमा सकीनसकी ज्याला मजदूरी गर्नुहुन्थ्यो । त्यसैको आम्दानीले आफूसहित परिवारको गुजारा चलाउने गर्नुहुन्थ्यो ।

बिडम्वना केही दिनअघि पशु स्याहार गर्ने क्रममा गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जीको विचल्ली भएको छ । उपचारको त कुरै छोडौँ । हात जचाउनका लागि अस्पतालसम्म जाने पैसा छैन । उपचार खर्च नहुँदा दर्जी ओछ्यानमा रुँदै सहयोगदाताको खोजीमा रहनुभएको छ ।

अविवाहित ५३ वर्षीय दर्जी अहिले कसैले पस्केर थालमा हालिदिएको खाना पनि खान सक्ने अवस्थामा हुनुुहन्न । उहाँकोे अवस्था अत्यन्त टिठ लाग्दो रहेको बेनपा–२ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जी ज्याला मजदूरी गर्न सक्ने अवस्थामा हुनुहुन्न । खर्चको अभाव हुनाले उपचार गर्न नसकेको र एकचोटि राम्रोसँग अस्पतालमा जचाउन जान नसकेको दर्जीको गुनासो रहेको छ । उपचार गर्न, जानआउन, खान, बस्न र आराम गर्दासम्म आवश्यक पर्ने रकमसम्म जुटाउन सकेमा दर्जीको उद्धारका लागि केही राहत हुने स्थानीयवासीले बताएका छन् ।

तिहारको रमझममा गरिने अतिरिक्त खर्च कटाएर दर्जीको उपचारका लागि सहयोग गर्न स्थानीय बुद्धिजीवी भवीन्द्र कुवँर (भवभिन्न)ले सहयोग गरो छन् । । “रङ्गरमिता निम्ति खर्च गर्ने अतिरिक्त रकमको सानो अंश भए पनि मानवसेवा र उद्धारमा लगाउनुहुन सम्पूर्ण सहयोगी, जिम्मेवार एवं समाजसेवी महानुभावमा हार्दिक अनुरोध छ”, कुवँरले भने ।