बाग्मती

बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न निर्देशन

काठमाडौ‌ं । रानीपोखरीको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न संस्कृति मन्त्रालयले पुरातत्त्व विभागलाई निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्त्व विभागका प्रतिनिधिको उपस्थितिमा मंगलबार बसेको बैठकले सो निर्देशन दिएको हो।

बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्बन्धमा गत पुस १३ गते गठन गरेको विज्ञ समूह र पुनर्निर्माण प्राधिकरणबाट यही कात्तिक १८ गते गठन गरिएको विज्ञ समितिले ‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न सुझाव दिएका थियो।

बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो। पुरातत्त्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो ।

बैठकले रानीपोखरीमा रहेको ‘जमलेश्वर’ मन्दिर र ‘विष्णुतीर्थ’को पुनर्निर्माणमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोजनमा काम गर्ने पनि जनाएको छ।

प्रतिवेदनमा मन्दिरको जीर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कङ्क्रिटको संरचना हटाई मल्लकालीन स्वरूप तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने उल्लेख गरिएको छ।