राजनीति

गच्छदार ब्यापक असन्तुष्टीकाबिच काँग्रेस उपसभापति मनोनीत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन भएका छन् ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका सम्बन्धमा भएको सहमतिअनुसार उनलाई उपसभापति पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकले काङ्ग्रेसको साङ्गठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक सङ्घसंस्थाको समायोजनसम्बन्धी आवश्यक कार्य गरी प्रतिवेदन पेश गर्न एक समितिसमेत गठन गरेको छ ।

सो कार्यका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भनिएको पार्टीको महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्व प्रारम्भ भइसकेको र सो समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न व्यावहारिक नहुने भन्दै महासमिति बैठकको मिति सारिएको मुख्य सचिव पौडेलले जानकारी दिए ।

बैठकले काङ्ग्रेसको विधान २०१७ (संशोधित र परिमार्जितं) को धारा ३८ बमोजिम गठन हुने केन्द्रीय लेखापरीक्षण समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह बनाउने तयारी गरिएको कुराप्रति काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनका लागि प्रयोग गर्ने/गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्ब रोक्न बैठकले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

बैठकले सर्लाहीको रामनगर गाउँपालिका–४ का काङ्ग्रेस कार्यकर्ता रामविलास महतोलाई गोली हानी हत्या गरेको घटनामा संलग्नलाई तत्काल कानूनी कारवाही गर्न माग गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा सो घटनाका मृतकलाई शहीद घोषणा गरी घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।

बैठकले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको दीपावली, नेपाल संवत्, छठलगायत पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेको छ ।

काङ्ग्रेसले मानव अधिकारवादी तथा पूर्वस्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकले डोल्पामा सोमबार जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले सो घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।