राजनीति

कांग्रेस महासमिति बैठक सर्‍यो

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले महासमितिको बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेका लागि सार्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए। यसअघि कांग्रेसले महासमिति बैठक आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्मका लागि तोकेको थियो। मंगलबारको बैठकमा बुझाउन भनिएको विधान मस्यौदामा मस्यौदा समितिले पूर्ण सहमति नजुटेको र केही विषयमा छलफल गर्न बाँकी रहेको बताएपछि महासमिति बैठक सार्ने लागिएको उनले बताए।

त्यस्तै, चाडपर्वका कारण पनि छलफल हुन नसक्दा पूर्वनिर्धारित समयमा महासमितिको बैठक बस्न नसकेको नेता लेखकले जानकारी दिए।

त्यस्तै, मंगलबारको बैठकले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने निर्णयसमेत गरेको छ। उनी तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा गएका थिए। उनले सम्झौताअनुसार भूमिका नपाएको भन्दै पछिल्लो समय सम्झौता कार्यान्वयनका लागि दबाब दिन सुरु गरेका थिए।

राजनीतिक आवश्यकताअनुसार गच्छदारलाई उपसभापतिमा मनोनीत गरिएको नेता लेखकले बताए। एक वर्षअघि पार्टी एकता हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारको पार्टीबाट उपसभापतिसहित १० जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने सहमति गरेका थिए।

त्यसअनुरूप केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने विषयमा निर्णय लिनका लागि विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ।

उक्त समितिले आगामी महासमिति बैठकमा समायोजनका विषयमा प्रतिवेदन पेस गर्ने नेता लेखकले बताए।