पत्रपत्रिका

‘सडक दुर्घटनाको वास्ता हुँदैन’

काठमाडौं । नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर, हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि, त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर, सडक दुर्घटनामा त बिरलै छानबिन समिति बन्छन् र त्यसका प्रतिवेदन अलपत्र पर्छन् ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा ११ असोज ०७३ मा एक समिति बनेको थियो । सरकारले यो समितिलाई पूर्वगृहमन्त्री माधव घिमिरेको दुर्घटनाको कारण पत्ता लगाउन, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित सवारी आवागमन र देशभर दुर्घटना न्यूनीकरणका उपायको सुझाब ल्याउन कार्यादेश दिएको थियो । समितिले नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडकमा सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रतिवेदन बुझाएको थियो ।

०७१/७२ मा मात्रै यी सडकखण्डमा एक सय २८ दुर्घटना भएको र एक सय एकजनाको ज्यान गएको प्रतिवेदनको तथ्यांक छ । राना समितिले ०६८/६९ देखि मापसे गरेर सवारी चलाउनेविरुद्ध राष्ट्रव्यापी अभियान चलाएपछि दुर्घटनामा तुलनात्मक कमी आए पनि ०७१/७२–०७३/७४ मा दुर्घटना ९.५५ ले वृद्धि भएको प्रतिवेदन तयार पारेको थियो । सवारीसाधनको संख्यामा वृद्धि र ग्रामीण सडक विस्तारले दुर्घटना बढेको ठहर गरेको थियो ।

समितिले चालक, पैदलयात्री र सवारीसाधनमा यात्रारत यात्रीमा सडक प्रयोगसम्बन्धी ऐन–नियमको जानकारीको अभाव, जानकारी भए पनि उल्लंघन गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको जनाएको छ ।

पछिल्ला ११ वर्षमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा धेरैको ज्यान गएको छ । यो अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष ०६४/६५ देखि ०७४/७५ सम्म भएका ९१ हजार ८ सय ५७ सवारी दुर्घटनामा २० हजार १ सय ७७ व्यक्तिले ज्यान गुमाएका हुन् ।

११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा बढी हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ ।, नयाँ पत्रिकामा खबर छ ।