आर्थिक

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैनः अर्थमन्त्री

सङ्खुवासभा । अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताएका छन् ।

सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उनले निर्माणाधीन अरुण तेस्रोका बारेमा तत्कालै समीक्षा गर्ने बेला भइनसकेको बताएका हुन् ।

अर्थमन्त्री डा खतिवडाले अरुण तेस्रोको निर्माण चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसका बारेमा पुनरवलोकन गर्नेभन्दा पनि कार्यप्रगतिका आधारमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट रहेको धारणा व्यक्त गरे ।

राष्ट्रिय गौरवको जलविद्युत् आयोजनास्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरिसकेको छ, उनले भने, “आयोजनामा स्थानीय नागरिकको पहुँच बढाउँदै लैजाने र आयोजनास्थलसम्म मध्यपहाडी लोकमार्गलाई छुवाएर लैजाने गरी सरकारले नीति बनाएको छ । ”

अर्थमन्त्री डा खतिवडाले राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने र त्यहाँ लामो समयदेखि स्थापना हुन नसकेको भन्सार कार्यालय, राजश्व कार्यालय, सीमा प्रशासन र सुरक्षाका हिसाबले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कार्यालय स्थापना गर्ने सोचका साथ सरकार अगाडि बढेको बताए ।

करको विषयमा तल्लो तहमा नकारात्मक सन्देश गएकाले त्यसको वास्तविकता बुझ्न सबैलाई आग्रह गर्दै अहिले बजारमा हल्ला भएजस्तो सरकारको साधारण खर्च बढी नभएको बरु राजश्व सङ्कलन बढी भएको बताए ।