पु.समाचार

ओली सरकार देश बिकासका लागी तीव्र गतिमा छः अध्यक्ष दहाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ भने । अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको हो भने ।

केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझावअनुसार नै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो भन्दै उनले पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाहअनुसार नै काम भइरहेको जानकारी दिए ।
सरकार पुनःगठन गर्ने कुनै सम्भावना नरहेको र मन्त्रीहरुको काममा गति बढाउन मात्र जोड दिइएको चर्चा गर्दै अध्यक्ष दाहालले वर्षा सकिएकाले अब सरकारको काममा तीव्रता आउने धारणा व्यक्त गरे ।
सरकारको लोकप्रियता घटेको हो कि भन्ने प्रश्नको जवाफमा लोकप्रियता खोज्नेभन्दा पनि राष्ट्र र जनताको वृहत्तर हितका लागि वर्तमान सरकार दीर्घकालीन फाइदा हुने काममा लागेको बताए ।