समाचार

अज्ञात समूहको कोखमा गोली लागी मोहनको मृत्यु

बर्दिया । बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।

मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए । सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । घाइते खटिकलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगिएको र उपचारको क्रममा मृत्य भएको थियो ।

उक्त समूहले घरमा रहेको पाँच लाख पनि लुटेर लगेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले खटिकको मृत्यु भएको सूचना आफूले पाएको तर गोली लागि भएको वा अन्य कारण बारे शव परीक्षणपछि मात्रै भन्न सकिने बताए ।