प्रदेश 2

प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा छाड्दैनौ: मुख्यमन्त्री राउत

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कसैसँग कुनै अधिकार नमाग्ने तर प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछोड्ने बताएका छन् । आईतबारदेखि जनकपुरमा शुरु भएको तीनदिने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रदेशस्तरीय प्रगति समीक्षा गोष्ठी कार्यक्रमको सम्बोधन गर्दै मन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्न हरसम्भव प्रयास गर्ने बताए ।

उनले भने, “हाम्रो प्रदेशमा करीब ५० प्रतिशत बढी दर्ता भएको मुद्दा जग्गा जमीनको रहेको छ, जग्गा जमीनकै कारणले विशेष गरेर दाजुभाइमा झगडा उत्पन्न हुन्छ, रुपैयाँको लोभमा नापी विभागका कर्मचारीले कसैको जग्गा जमीन कसैको नाममा सिफारिश गरिदिन्छ, यस्ता कर्मचारीलाई कानूनअनुसारको सजाय दिलाउछु, म आफ्नो कार्यकालभित्र भ्रष्टाचार हुन दिन्न ।”

विभिन्न विषयमा नापीका प्रमुखसँग छलफल भएको उक्त कार्यक्रममा राज्यमन्त्री योगेन्द्र यादव, भूमि व्यवस्था तथा महानिर्देशक, अभिलेख विभागका प्रमुख सचिव हरिप्रसाद फुयाँलले पनि मन्तव्य व्यक्त गरेका थिए ।

जन्तीलाई ‘धोती गम्छा’

मुख्यमन्त्री राउतले विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने जन्तीलाई मधेशको पोशाकमा बिदाई गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा दीपावली तथा छठपर्वको अवसरमा आज आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले भारतबाट आउने जन्तीलाई मधेशीको पहिचान धोती, कुर्ता र गम्छा लगाएर बिदाइ गर्ने बताए ।

नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा आफ्ना शुभकामना मनतव्य राख्दै मुख्यमन्त्री राउतले माता सीताको जन्मभूमि जनकपुरधाममा पौराणिक कालदेखि चलिआएको विवाहपञ्चमी महोत्सवमा मधेशको संस्कृति झल्कने गरी जन्तीलाई बिदाइ गर्ने बताए ।

कार्यक्रममा बेटी पढाऊ, बेटी बचाऊ अभियानलाई सफल बनाउन र यस प्रदेशलाई एक शिक्षित प्रदेश बनाउको लागि प्रदेश सरकारले चालेको कदममा सबैले मिलि सहयोग गर्ने आग्रह गरे । चियापान कार्यक्रममा प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश नं २ का अन्य मन्त्रीगण, प्रदेशसभा सांसद, प्रतिनिधिसभा संसद्, राष्ट्रियसभा सदस्यको सहभागिता थियो ।

विद्यापति स्मृति त्रिद्विवसीय

जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व मनाउने भएको छ । विद्यापति ट्रस्टका संयोजक चन्द्रमोहन चौधरीले आज जनकपुर पत्रकार सम्मेलनको आयोजना गरी आउँदो मसिंर ५ गतेदेखि ७ गतेसम्म स्मृति पर्व मनाइनेबारे जानकारी गराए ।

संयोजक चौधरीले मङ्सिर ७ गतेसम्म चल्ने स्मृति पर्वमा मिथिलाको साहित्य, कला र सांस्कृतिक लगायतका विषयमा विचारविमर्श हुने बताए । उनले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको ध्यानाकर्षण गराउँदै तत्काल सडक मर्मत तथा सम्भार गरिदिनका लागि आग्रहसमेत गरे । जनकपुरस्थित विद्यापति चोक मुरली सरमा २१ वर्षदेखि स्थानीय युवाको पहलमा विद्यापति स्मृति पर्व मनाउँदै आएका छन् ।

बोक्सीको आरोपमा कुटपिट

धनुषामा एक महिलालाई बोक्सीको आरोपमा सार्वजनिकस्थलमै कुटपिट गरी नगद दण्ड जरिवानासमेत गराइएको घटना सार्वजनिक भएको छ । धनुषाको धनौजी गाउँपालिका–२ बस्ने ३८ वर्षीया मनतोरिया देवी मण्डल खत्वेलाई गत कात्तिक ९ गते पञ्चले बोक्सी भन्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

श्रीमान् वैदेशिक रोजगारमा रहेकाबेला आफन्तजनले नै बोक्सी भन्दै तथानाम गालीगलौज गर्नुका साथै नगद रु एक लाख जरिवाना तिराएको पीडितले जनाए । जबर्जस्ती कुटपिट गर्दै जेठाजु इन्दल मण्डल खत्वेले नै बोक्सी स्वीकार गर्न लगाई रु ५० हजार र गाउँलेलाई भोजभतेर गर्न रु ५० हजार गरी पञ्चले रु एक लाख जरिवाना गरेको पीडित महिलाले बताए ।

समाजका माइजन (पञ्च) फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायत जेठाजुसमेतले लछारपछार गर्दै कुटपिट गरी बोक्सी स्वीकार गर्न लगाएपछि जरिवानासहित भोजभतेर माग गरेको बताए ।

पीडितको पति वैदेशिक रोजगारीका लागि दुबइमा रहेका छन् । पीडितले भने, “मेरो श्रीमान् विदेशमा रोजगारी गर्नु हुनुहुन्छ । घरको अवस्था जसोतसो चल्दै थियो । विदेश गएपछि क्रमिकरुपमा घरको अवस्था सुधार हुन थालिसकेको थियो । तर, एकाएक सामान्य कुराका लागि पनि विवाद हुन थाल्यो । जेठाजु इन्दल, जेठानी मानकी देवीलगायतले विभिन्न निहुँमा कुटपिट गर्न थाले । त्यसपछि जेठाजुले जातिगत समाजका पञ्चलाई बोलाए । मलाई बोक्सी आरोप लगाई कुटपिट गरी ज्यान मार्ने धम्की दिइ स्वीकार गर्न लगाए ।”

महिलाले रुँदै भनिन्, “नस्वीकारेसम्म माइजनको अगाडि नै जथाभावी कुटपिट गर्ने र लछारपछार गर्दै (माइजन) पञ्चले हातखुट्टा, मुक्काले शरीरको विभिन्न अङ्गमा निर्घात कुटपिट गरे । त्यसपछि म विवश भई स्वीकार गरेँ । अनि पञ्चले रु ५० हजार र रु ५० हजारको भोजभतेरका लागि भन्दै रकम लिई जरिवाना लिने निर्णय गरे । जरिवाना नतिर्ने बताएपछि थप कुटपिट गरेर मलाई बेहोस बनाए ।”

पञ्चले बेहोस बनाएर गएपछि छोरीले आफूलाई घरमा उठाएर लगेको पीडितको भनाइ छ । दुई छोरा र दुई छोरीकी आमा उनले विदेशमा रहेका आफ्ना पतिलाई फोन गरेर आफूमाथि भएको घटनाको सुनाएपछि पतिले स्थानीय जनप्रतिनिधि कहाँ न्यायका लागि जान सुझाव दिएको बताए ।

सोहीअनुसार उनले धनौजी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार साहसमक्ष उजुरी गरेको जनाए । उनले मनमा मल्हम लगाउनुभन्दा पनि उल्टै जात र समाजमा मिलेर बस्न भन्दै माइजनको निर्णय स्वीकार गर्न भनेको भन्दै भक्कानिए । कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा दोषीमाथि कारवाही र न्यायको माग गर्दै उनले उजुरी दर्ता गराइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले अब घटनाबारे अनुसन्धान थाल्ने बताए । यस विषयमा पीडितले प्रदेश सरकारलाई समेत जानकारी गराएको बताए ।