राजनीति

युवा नेताहरु भन्छन्, ‘महासमितिको बैठकबाट काँग्रेसले जीवन्तता पाउछ’

विराटनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब बस्ने महासमितिको बैठकबाट काङ्ग्रेसले नयाँ जीवन्त प्राप्त गर्ने बताएका छन् । मोरङको रतुवामाई नगरपालिकाको झुर्कियामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले काङ्ग्रेसका कार्यकर्तालाई आवश्यक जोशका लागि नेतृत्व तह एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान सफल कार्यान्वयन र सङ्घीयता व्यवस्थापन गर्नु नै काङ्ग्रेसको जिम्मेवारी रहेको बताए । उनले एविगतको निर्वाचनको पराजयबाट पाठ सिकेर काङ्ग्रेसले आफूलाई परिमार्जन गर्दै जनताको बीचमा जानुपर्ने आवश्यकता औँल्याए ।

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले दुई तिहाइको बहुमतको सरकारले जन चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाए । नेपाली काङ्ग्रेस रतुवामाई नगर समितिका अध्यक्ष जीवन पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, नेका केन्द्रीय सदस्य डा डीला सङ्ग्रौला, राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशका नेपाली काँग्रेस सचेतक केदार कार्की, पूर्वमन्त्री दिलीप गच्छदार, मोरङ सचिव मोदराज घिमिरेले पार्टीका केन्द्रीय नेतृत्वबीच एकता कायम हुनुपर्नेमा जोड दिए ।