खेलकुद

पिपिएल: पोखरा र चितवन फाइनलमा भिड्ने

कास्की । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ । आज यहाँ भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ रोयल्सलाई छ विकेटले पराजित गरेसँगै पोखराले उपाधि भिडन्तमा चितवनलाई प्रतिष्पर्धी पाएको हो । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा घरेलु टोली पोखराले भने यसअघिनै समूह चरणमा शीर्ष स्थानमा रहँदै मङ्गलबार हुने फाइनल खेलमा स्थान सुरक्षित गरेको थियो ।

फाइनल प्रवेशको लागि ९५ रनको सामान्य लक्ष्य पाएको चितवनले स्मित पटेलको ३८ र हरिशङ्कर शाहको २६ रनको मद्दतले १८ ओभरकोे दोस्रो बलमा लक्ष्य पूरा गरेको थियो । चितवनका आरिफ शेख नटआउट रहँदै ३२ बलमा २० रन जोडे । बलिङतर्फ काठमाडौँका सुसन भारीले तीन विकेट लिएका थिए । टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले निर्धारित २० ओभरमा तीन बल बाँकी छँदै ९४ रनमा अलआउट हुन पुग्यो ।

खेलमा कमजोर शुरुआत गरेको काठमाडौँका लागि ज्ञानेन्द्र मल्लले ३० र जयकिशन कोल्सावालले २५ रन बनाउनबाहेक अन्य ब्याट्म्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । चार ओभर बलिङ गरेका सन्नी पटेलले तीन विकेट लिँदै जम्मा नौ रन खर्चेर काठमाडौँलाई सस्तैमा रोक्न सफल भएका थिए । स्मित पटेल र भुवन कार्कीले समान दुई विकेट र पारस खड्का र करण केसीले समान एक/एक विकेट लिएका थिए । प्रतियोगिताको विजेताले नगद रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।