आर्थिक

दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन

काठमाडौँ । सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको राजश्व सङ्कलन भएको हो । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । भन्सार विन्दुमा गरेको सुधार तथा आन्तरिक राजश्व सङ्कलनमा गरेको कडाइका कारण राजश्व सङ्कलनमा वृद्धि भएको हो ।

यस्तै विकास खर्च भने आशातीत रुपमा बढ्न सकेको छैन । सो कार्यालयका अनुसार हालसम्म विकास खर्च ७ दशमलव ७६ प्रतिशत मात्रै भएको छ । चाडबाडका कारण विकास खर्चमा उल्लेख्य वृद्धि हुन नसकेको बताइन्छ । भन्सार विभागका अनुसार वीरगञ्ज भन्सारले सबैभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यस्तै बढी राजश्व सङ्कलन गर्नेमा क्रमशः भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, विराटनगर, वीरगञ्ज सुक्खा बन्दरगाह, नेपालगञ्ज, रसुवा, मेची, कृष्णनगर, कैलाली, जलेश्वर भन्सारलगायत छन् । हाल २० भन्सार नाका सञ्चालनमा छन् ।