कृषि

धानमा दाना नलागेपछि कृषक चिन्तित

पर्वत । पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् । उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको थियो । कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय मार्सी र कोदे गुडुरालगायतको धान लगाउँदै आएका यहाँको पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए । यो जातका बोटमा बाला नलागेको हो ।

किसानले करीब १०० रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका हुन् । अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिश गरेका थिए । स्थानीय कृषक पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, रिमा रिजाल, गङ्गा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए । नगर कृषि कार्यालय फलेवासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन । उनका अनुसार तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ । “पोखराचौर उच्च पहाडी क्षेत्रमै पर्छ”, उनले भने, “यो धान त्यहाँका लागि उयपुक्त होइन । कसरी सिफारिश भयो बुझ्नुपर्छ ।” पीडित किसानले क्षतिपूर्ति पाउनुपर्ने उनले भनाइ छ ।