समाचार

सडक सपना पुरा नहुँदा दार्चुलाको स्याउले बजार पाएन, सस्तो मूल्यमा विक्री गर्नुपरेको कृषको दुखेसो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छांगरुका जितसिह बोहराले स्याउँ खेती शुरु गरेको १५ बर्ष भयो।

२०६० सालमा भारतको हिमाञ्चलबाट चार सय विरुवा ल्याएर उनले स्याउ खेती शुरु गरेका हन्। स्याउ खेती गरेको ६ वर्षपछि अर्थात २०६६ सालबाट खेतमा स्याउ फल्न शुरु गर्यो । स्याउ खेती सुरु गर्ने बेला बोहराले दार्चुला तिंकर सडक निर्माण हुने र तिंकरसम्म गाडी गुड्छ भन्ने सुनेका थिए। उनले पहिलो पटक तीन हजार मिटर उचाईमा पर्ने व्यासको छांगरुमा स्याउँखेती शुरु गरेका हुन्।

धेरैलाई सुरुमा बोहराले व्याँसमा स्याउ खेती गरेकोमा आश्र्चय पनि बनाएको थियो। खेती लगाउने बारीभरी स्याउका विरुवा रोपेपछि धेरैले यस क्षेत्रमा स्याउ फल्छ होला भनेर विश्वास गरेका थिएनन, बोहरा सुनाउँछन्, रोयल र गोलेन जातका स्याउँ ५ वर्षपछि बारीभरीका लटरम्म फल्न थालेपछि सबैलाई चकित बनायो। उनको बारीमा स्याउँ फल्ने समयमा दार्चुला तिंकर सडक निर्माण शुरु भइसकेको थियो। २०६५-०६६ बाट तिंकर सडकको निर्माण शुरु भयो। पाँच सात वर्षपछि तिंकरसम्म गाडि पक्कै पुग्छ होला भन्ने लागेको थियो उनलाई।

आफ्नो बारी भरि फलेको स्याउ खलंगा र आसपासका बजारमा विक्री गर्ने उनको सपना थियो। तर १० वर्ष वित्दा पनि दार्चुला तिंकर सडकले गति लिएको छैन्। तिंकर सडक मात्र होईन उनको गाउँ पुग्न नेपालतिर गोरेटो बाटो समेत छैन्। सदरमुकाम खलंगा आउजाउँ भारतीय बाटो भएर गर्नुपर्ने बाध्यता छ। हिड्नलाई बाटो छैन कहाँको स्याउको व्यापार हुनु उनको गुनासो छ। उनको बारीमा फलेको स्याउँ अहिले भारतीय सुरक्षाकर्मी र व्यापारी आएर किन्न थालेका छन्। तर गाउँमा उत्पादन भएको स्याउ ८० रुपैयाँ प्रतिकिलोग्राम मूल्यमा विक्री हुने गरेको छ। सडक र बाटो नहुँदा सस्तो मूल्यमा गाउँमा आउने भारतीय सुरक्षाकर्मी र व्यापारीलाई विक्री गर्नुपरेको उनको दुखेसो छ।
भारतीय सुरक्षाकर्मी र व्यापारीहरुलाइ सस्तो मूल्यमै स्याउँ विक्री गर्दा पनि बार्षिक अढाई लाख रुपैयाँ आम्दानी हुने गरेको बोहराको भनाई छ। नेपालतिर बाटो र सडक भइदिए गाडीमा राखेर डेढ सय देखि दुई सय रुपैयामा स्याउ सजिलै खलंगामा विक्री हुने थियो। तर सडक सपना बुनेर लगाएको स्याउ अहिले कौडीको भरमा सस्तो मूल्यमा विक्री गर्नुपरेको उनको दुखेसो छ।

उनले थालनी गरेको स्याउ खेती देखेर अहिले गाउँ भरी व्यक्तिगत तथा सामुहिक रुपमा स्याउँ खेती शुरु गरिएको छ। छांगरुका झण्डै ८० बढि परिवार अहिले स्याउ खेतीमा आवद्ध भएका छन्। अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय तथा वडा कार्यालयको सहयोगमा राखुपा कृषक उपभोक्ता समितिले गत वर्षबाट स्याउ खेती शुरु गरेको छ।

गाउँभरी २५ बढि परिवार आवद्ध भएर एक हजार स्याउका विरुवा खेती गरिएको छ। जुम्लाबाट स्याउँका विरुवा ल्याएर खेती गरेका छौ, एक हजार विरुवा मध्ये नौ सय बढि विरुवा राम्रो सँग हुर्किन थालेको छ, समूहका कोषाध्यक्ष सुकमति बोहराले भनिन्। स्याउ फल्न पाँच छ वर्ष लाग्छ त्यो बेलासम्म व्याससम्म गाडी नभएपनि गोरेटो बाटो बन्छ होला उनले भनिन्।

अहिले छांगरुका अधिकांश स्थानीयले २० देखि डेढ दुई सय सम्म व्यक्तिगत रुपमा स्याउँका विरुवा लगाएका छन्, स्थानीय गजेन्द्रसिह ऐतवालले भने। समुद्री सतहबाट दुई हजार देखि तीन हजार पाँच सय मिटर उचाईसम्म सजिलै स्याउ खेती हुने गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई स्याउ जोन दार्चुलाका सूचना अधिकारी हरिदत्त जोशीले भने।