खेलकुद

विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

स्याङ्जा ।  स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा आज भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् ।

अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले आज भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् ।

एकलतर्फ १० अङ्क प्राप्त गरी कोरियाली खेलाडी स्यानग्यु लिम पहिलो भएका छन् भने कोरियाकै किम कि हियोन ११ अङ्क प्राप्त गरी दोस्रो भएका छन् । नेपालका युकेश गुरुङ २८ अङ्क प्राप्त गरी १०औँ स्थानमा पर्न सफल भएका छन् । समूहगत खेलमा समेत कोरियाली समूह गिनग्लाइडर्स र दभिन्ची पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

नेपाली समूह नेपाल एक तेस्रो स्थानमा रहेको छ । महिला विधामा समेत पहिलो दोस्रो र तेस्रो स्थानमा कोरियाली खेलाडी रहेका छन् । नेपाली खेलाडी तृषा श्रेष्ठ वमजन महिला विधातर्फ पाँचौँ स्थानमा पर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीहरु स्वरेक मैदानमा उडान गरी डौवा फाटमा अवतरण गरेका छन् । बिहीबारदेखि शुरु भएको प्रतियोगिताको आइतबार वालिङ– ११ डौवा फाँटमा समापन गरिने छ ।