राजनीति

बुटवल पुगेर अध्यक्ष दहालले भने, ‘नेकपाबाट मात्रै समृद्धि सम्भव छ’

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (ण्नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र नागरिकको समृद्धि नेकपा बाट मात्रै सम्भव रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले व्यक्तिगत स्वार्थलाई कुल्चिएर नागरिकको हित र राष्ट्रिय एकतालाई ध्यानमा राखेर पार्टी एकताको सङ्कल्प गरेको बताउँदै उनले अब विकास र समृद्धिको नेतृत्व गर्ने बताए । नेकपा रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शुभकामना तथा सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रियालाई तल्लो तहसम्म व्यवस्थित गर्दा केही ढिलाइ भए पनि अब छिट्टै एकता प्रक्रियाको टुङ्गो लाग्ने बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकतापछि नेकपाको एउटै उद्देश्य देश र जनताको समृद्धि भएको बताउँदै अबको दशक विकास निर्माणमा क्रान्ति र समृद्धिको दशक भएको बताए । ‘पार्टी एकतापछि असोज ३ सम्म विभिन्न ऐन बनाउन लाग्यौँ, अब सरकारलाई आरोप लगाउने ठाउँ छैन’, उनले भने, ‘खाल्डाखुल्डी पुरेको तुरुन्तै देखिन्छ तर ऐन कानून बनेको देखिँदैन ।’

अध्यक्ष दाहालले मुलुक सङ्घीय संरचनामा जाँदा सरकारलाई काम गर्न अप्ठ्यारो भए पनि उल्लेख्य काम भएको दाबी गरे । पार्टी एकताका विरुद्धमा प्रतिक्रियावादीले गलत प्रचार गरे पनि त्यसका पछाडि नलाग्न उनले आग्रह गरे ।

विगतमा जनयुद्धकालमा केही कमजोरी भए पनि त्यसलाई सच्चाएर अघि बढ्दा केही समय लागेको बताउँदै उनले भने, ‘सकेसम्म गल्ती नगर्ने भइहाले सच्याएर अघि बढ्ने क्षमता कम्युनिष्टमा मात्रै हुन्छ ।’

राजनीतिक नेतृत्व सङ्घीयता कार्यान्वयनमा लागे पनि कर्मचारीतन्त्रले अझै नबुझेका कारण समस्या भएको उनले बताए । अध्यक्ष दाहालले सुन्दर र सभ्य नेपाल निर्माणमा साथ दिन कार्यकर्तालाई आह्वान गरे ।