राजनीति

कुन हालत पनि हत्यारालाई कारवाही हुनुपर्छः उपसभापति निधि

जनकपुरधाम । नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीका पार्टी कार्यकर्ता रामविलास महतोको हत्यारालाई केन्द्र र प्रदेश सरकारले संरक्षण दिइराखेको आरोप लगाएका छन् ।

जनकपुर युथ क्लबको नवनिर्मित भवनको यहाँ आज उद्घाटन गर्दै उनले भने, “हत्याराको पहिचान भइसकेका अवस्थामा पनि पक्राउ गर्ने सन्दर्भमा केन्द्र र प्रदेश सरकार मौन बस्नु आपत्तिजनक हो ।”

उपसभापति निधिले दुवै सरकार अपराधीलाई बचाउन उद्यत रहेको प्रसङ्ग उल्लेख गर्दै सर्लाही गोलीकाण्ड बारेमा प्रदेश सरकारको उदासिनताले मधेशवादी दलको मधेशी जनताप्रति गैरजिम्मेवार चरित्रलाई छरपस्ट पारेको बताए ।

मधेशी दल कम्युनिष्ट सरकारको भ्रमरूपी जालमा फस्दै मधेशलाई नारामा सीमित राखेको चर्चा गर्दै उहाँले मधेशवादी दलले संविधान संशोधन पनि गराउन नसकेको तथा मधेशीको हितमा पनि कुनै कार्य गर्न र गराउन नसकेको धारणा व्यक्त गरे ।

उपसभापति निधिले मधेशी दल मधेशको एजेण्डालाई समाप्त गर्नेतर्फउन्मुख रहेको उल्लेख गर्दै प्रदेश नंं २ को नामकरण मिथिला प्रदेश राख्नुपर्ने बताए ।

मधेशवादी दल भ्रममा नपरी तथ्यपरक ढङ्गले मिथिला प्रदेश नामकरण गर्न अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

काङ्गे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले सङ्घीयतालाई सवल बनाउन सबै अग्रसर हुनुपर्छ भने ।

प्रदेशसभा सदस्य रामसरोज यादवले प्रदेश नं २ मा ४५ प्रतिशत मैथिली भाषाभाषी भएका कारण प्रदेशको कामकाजको भाषा मैथिली हुनुपर्ने धारणा राखे । अर्का प्रदेशसभा सदस्य परमेश्वर साहले युवालाई कुलतबाट बचाउन सबै पक्षको क्रियाशीलतामाथि जोड दिए ।

प्रदेशसभा सदस्य मीनाक्षी झा र जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले लागुऔषध र आपराधिक कार्यतर्फ उद्यत युवाको मनोविज्ञानमा परिवर्तन हुने अभियान चलाउनुपर्छ भने ।