पर्यटन/संस्कृति

कर्णालीलाई फन्को मार्दा ………..

तारक प्रभिा/नजिकको तिर्थ हेला भनेझै कर्णाली प्रदेशकै बासिन्दा भएपनि प्राकृतिक सम्भाबनाको खानी कर्णालीका धेरै ठाँउहरु हेर्ने र वास्तविकता अनुभुत गर्ने मेसो मिलेको थिएन । पार्टी महामन्त्री पुर्ण बहादुर खड्काको सुझाव अनुरुप पार्टी भित्रको आन्तरिक एकता, सदभाव, सौहार्दता र साँगठनिक जागरणको सन्देश गाउं तहसम्म प्रवाह गर्ने उद्येश्य अनुरुप नेबिसंघ पुर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा हामी आश्विन ८ गते श्री एयर लायन्सको जहाज मार्फत नेपालगञ्ज हानियौं ।

साँझ नै सुर्खेत स्थितपार्टी सचिव टोप बहादुर रावतको घरमा बास बसेर ९ गतेको विद्यान मस्यौदा सुझाव संकलन कार्यक्रममा सहभागी भएर १० गते कर्णाली प्रदेशको सबै कार्यक्रम र कार्यतालिका तय गरियो । हाम्रो सदभाव भ्रमणमा धेरै साथीहरु सहभागि हुने पुर्व निर्धातिर कार्यक्रम रहेपनि अन्य साथीहरु कारणबस सहभागी हुन नसकेपछि ऋषिकेशजंग शाह सल्यान, टोप बहादुर रावत सुर्खेत, बेदराज सिंह जाजरकोट, सुरेन्द्र के.सी सुर्खेत, नेबिसंघ पुर्व केन्द्रिय सदस्य केशरजंग शाही मुगु, भक्त बुढा जुम्ला, म स्यम् रुकुम, शुसिला गिरी कालीकोट, दिपक बिसी सुर्खेत, सुरोत लामा काभ्रे, परोपकार अधिकारी काठमाण्डौ सहितको यात्रा अगाढी बढ्नु नै थियो । ब्याक गियर लागेन हाम्रो यात्रा कर्णालीको सम्भावना खोज्दै उकालो लाग्यो ।

केहीदिन अगाडीदेखी छयागं आकाश खुलेर दशैंको आभाष दिएपनि रातभर परेको पानीको कारण बादलले घेरेको सुर्खेत उपत्यकालाई छोड्दै हामी उकालो लाग्यांै । सुर्खेत दैलेख सिमाना गुराँसेमा खाना खाएर एक घण्टा ओरालो पार गरेपछि तल्लो ढुंगेश्वर हुदै कर्णाली नदीको तिरैतिर विस्तारै उकालो लाग्यौं । दशैं नजिक नजिक आईरहेको आभाष हुने मौसम, अक्करिला पहाड, भिरालो बस्ति, जंगल हेदै हाम्रो यात्रा आफनै गतिमा अगाडी बढिरहन्छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना स्थल हुदै दैलेख अछाम सिमाना राकमलाई नागबेली पारेर बगेको कर्णालीको बाटो पहिल्याउदै अगाढी बढ्दै जांदा झन उराठ लाग्दा तारेभिर र नदी किनारको बाटो हुँदै दैलेखकै खिड्की ज्युलामा पार्टीका स्थानीय नेता कार्यक्रताहरुसंगको छोटो भलाकुसारी पश्चात हिड्दै गर्दा सांझ परिसकेको थियो । कर्णाली राजमार्गमा रातको समयमा अत्याधिक दुर्घटना बढेपछी स्थानीय प्रशासनले रातको समयमा गाडी चल्न रोक लगाएको कारण कालीकोट सदरमुकाम मान्ममा बास बस्ने भनेपनि दिउँसो नै कालीकोट जुम्ला सिमाना नाग्ममा स्थानीय साथीहरुले व्यवस्थापन गरिसकेकोले त्यहाँ पुग्नैपर्ने इरादा लिएर अगाढी बढियो ।

मान्म प्रवेशद्वार जिते बजार हुदै तिला नदीको सेरीघाट पुल तरेर हुम्ला कर्णालीलाई छोडेर मान्म पुग्दा रातको करिब ९ बजिसकेकोले विगत सशस्त्र द्वन्द्धकालमा कर्णालीमा मोटरबाटो पुर्याायर त्यहाँका जनताको जीवनशैली र दैनिकीमा सहजता ल्याउन भन्दै बाटो निर्माणमा खटिएको नेपाली सेनाको ब्यारेकलाई माओवादीले निशाना बनाउदा भिषण र बिभत्स लडाई भएको पिली क्षेत्रलाई बाँया छोडेर गाडी हुंईकियो । सदरमुकाम मान्मबाट पैदल आधा घण्टाको दुरीमा रहेको पिलिमा बसेको शाही नेपाली सेनाको निमार्ण टुकडीलाई विद्रोही लडाकुले ध्वसं बनाएको यथेस्ट हतियार खाद्यान्न र बन्दोबस्तिका सामान लिएको र गोलीले बाँकी रहेका सैनिक जवानहरुलाई अंग–अंग काटेर बर्बरतापुर्वक प्राण लिएको उक्त घटना मेरो मानसपटलमा ताजै रहेकोले तिनका आफन्तजन,प्रियजन घरपरिवार र रोजिरोटी र राष्ट्र सेवाको लागी दुर दराजको आगै सिरिगं हुने भिर पखेरामा त्रिपालमुनी बस्दै गर्दा मृत्युवरण गर्ने योद्धाहरुलाई सम्झदै नाग्म पुदा रातीको १२ बजेको थियो । हामीलाई स्वागत गर्न जुम्ला कालीकोटको चिसो रातलाई प्रबाह नगरी तलसम्मै आएका साथीहरुको उर्जा देख्दा केन्द्रबाट कोही मान्छे आउने भनेपछि यसै त्यसै खुसी हुने निस्वार्थ भावना बोकेका ग्रामिण बस्तिका साथीहरुको त्यो उत्साहले निन्द्रा खुल्यो । खाना खाएर सुतियो । बिहान कालीकोट जुम्ला सिमाना नाग्म बजारमा स्थानीय व्यापारी र साथीहरुसंग सामान्य कुराकानी पश्चात हामी जुम्ला सदरमुकाम खलंगाको लागी हिड्यौ ।

दशंै नजिकिदै गर्दा छयागं खुल्दै गरेको मौसमले त्यसै मन चंग फुरुगं गरेकोबेला सिंजा भएर आएको हिमा नदीलाई दाँया छोडेर खलंगाबाट आएको तिला नदीको नागबेली स्वरुपको मोहकतामा हराउदै पहेलपुर भएर लह लह झुलेका मार्सी धानका बालाहरु, पहाडकी रानी जुम्ला उपत्यकाभित्र लहरै मिलेर बसेका घरहरु नजिकै बारीमा लटरम्म फलेका स्याउ दाना, झटट हेर्दा बर्षायामको आलु खेतिझै लाग्ने भुई सिमीको खेतिमा नजर डुलाई नसकिदै आईपुग्ने तातोपानी कुण्ड हुदै देखियो खलंगा बजार । खलंगामा स्थानीय साथी र अग्रजहरुको शरदयामले चिसो हुदै गएको जुम्लामा पाएको न्यानो आतिथ्यता जुगौं अविस्मरणिय रह्यो । एकै छिन थकाई मेटाएपछि सबै आ–आफनो रुचिका काममा लाग्यौं । कोही बजार टहल्न निस्के कोही भेटघाट कोही खानपान यस्तै यस्तै यही मेलोमा मैलेपनि जिल्लावासी सामाजिक कार्यकर्ता यज्ञ पुन, लशेर बहादुर चन्द लगायतलाई भेट गरे भावना साटने काम गरे । आत्मीय मनहरु बीरेन्द्र दाई, घनश्याम थापा, वडा अध्यक्ष गोल्डेन जी लगायतको त्यो आत्मीयतालाई मनमा सजाउदै हामी तिन बजे सिजातर्फ हानियौ । फेरी नाग्म हुदै कालोपत्रे बाटो छोडेर कच्ची बाटो हुदै बडकी हुदै रावतगाउमा स्थानीयको न्यानो आतिथ्यता र आत्मियताका पोका पन्तरा बाँधेर अबेर सिजा पुग्यौ । सिँजामा बास बसेर बिहानै स्थानीय साथीहरुको प्रबन्ध अनुरुप चर्चित कनका सुन्दरी मन्दिर दर्शन तथा बनभोजमा सरिक भएर हामी राराको बाटो तताउनु त छदै थियो ।

सिजा नेपाली भाषाको उदगम स्थल हो । नेपाली भाषा सभ्यताको सुरुवात यही सिजा उपत्यका र हिमा नदीलाई मानिन्छ । सिजा उपत्यका भित्रका धेरै उदघाटित र अनुदघाटित तथ्यहरुलाई केलाउदै हामी अगाडी बडयौ । कनका शुनदरी मन्दिर हाट सिजामा बस्तासम्म त्यहाका स्थानीय, बुडापाका र साथीहरुसंग त्यहा बाईसे चौबिसे राज्यकालका समयमा भए गरेको शासन व्यवस्था, त्यहाँको रहन सहन, रितिरिवाज, चालचलन र हालको यतार्थवारे कुरा गरियो । तत्कालीन बाईसे चौबिसे राज्यको दरबार रहेको हात सिंजा स्थित राज्यलाई कुनै समय भारतको गढवाल राज्यले १००० धार्नी तामा र भोट राज्यले १० धार्नी सुन बार्षिक कर बुझाउने गरेको गौरबपुर्ण ईतिहाँस बोकेको यो राज्य आज गरिब, दुर्गम, विकट अनि पिछडिएको राज्यकै रुपमा किन रह्यो मनभारी बनाउदै फर्कदै गर्दा जुम्ला जिल्लाबाट नेबिसंघको पहिलो केन्द्रिय सदस्य बन्नु भएका काँग्रेस नेता नवजगं हमालको गिर्दो स्वास्थ्य ब्यवस्थावारे जानकारी लिएर हाम्रो यात्रा मुगुतर्फ अगाडी बडयो ।

मुगु र जुम्लाको सिमाना भुलभुलेबाट देखिने जंगल, हिमश्रृखला, पाटन र रारा राष्ट्रिय निकुञ्जको चेकपोष्ट हुदै हामीहरु मन्त्रमुग्ध हुदै अगाडी बडीरह्यौं । कोदो, आलु, फापर र सिमि खेति सोझा गाउले दाजुभाई, ग्रामिण जीवनशैलीको दृश्यावलोकन गर्दै ताल्चा विमानस्थलको तल्लोभाग पुग्दा साँझ पर्न आटेकै थियो नेबिसंघ मुगु काठमाण्डौ सम्पर्क समिति बहिनी जगमाया रावल सहितको स्वागत ग्रहण गर्दै सेती घोडा चढेर रारातर्फ लाग्यौ ।

छिप्पिदै गएको रात बाटोभरी भेटिने पर्यटकहरुको भीड र घोडाको बथान छिचोल्दै रारा पुग्दा रात झमक्कै भईसकेको थियो । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेपछि होहल्ला कम गर्दै करिब एक घण्टा घोडाबाटै राराको किनारै किनार राराको पानी निष्कासन हुने ठाँउ खत्याड पार गरेर होटेल डाँफेमा केसर दाईले दिउँसै अर्डर दिनुभएको लेकाली भेडाको सेकुवासंगै क्याम्प फायर सुरु गरियो । आत्मीय मित्र धर्मराज शाही सहित स्थानीय साथीहरुले स्थानीय देउडा भाकामा शब्दजाल बुन्दै राराको शान्त संगितसंग मितेरी गाँस्दै बित्यो रात । बिहानै चंखेली हिमालको चिसो स्पर्शले निन्द्रा ब्युँझियो तर अघिल्लो दिन र रातको निन्द्रा र थकानले लखतरान नै थियो शरिर तरपनि राराले लठ्याईहाल्यो । हतार हतार हातमुख धोयर सबै ढुंगा चडेर एक घण्टा फन्को मारेपछि हामी अर्के बाटो भएर मुगुको सदरमुकाम गमगढीको बाटो ततायौ । अघिल्लो दिन घोडा अनियन्त्रित हँुदा घुडामा सानो भित्री घाउ देखेको कारण म घोडामै गमगढी पुग्दा दिउँसो ३ बज्नै आटेको थियो । खाना पश्चात हामी नेपाली काँग्रेस र नेबिसंघ मुगुको आत्मियता र आतिथ्यता ग्रहण गर्दै कर्णाली सद्भाव भ्रमणवारे केही कुरागर्दै साँझको पाँच बज्नै लाग्दा गमगढीलाई दायाँ छोडदै ताल्चा विमानस्थल भएर आफनो यात्रा छोटयाउदै गयांै । अपार सम्पदाको खानी भुगोल र राज्यको केन्द्रिकृत र असमान नितिको कारण सदैव लगानी, विकास, समृद्धीको पखाईमा बसेको रारा र मुगुलाई बिदाईका हात हल्लाउदै पुनः सिँजा स्थित रारा हाटेलमा बास बस्न आईपुग्दा राति अबेर भईसकेको थियो ।

बिहान केही स्थानीय उत्पादनका कोसेलीहरु बोकर हामी कालीकोट सदरमुकाम मान्म बजारमा नेपाली काँग्रेसका नेता टेकराज शाही, हस्त बम र शुसिला गिरी लगायतको आत्मीयता ग्रहण गर्दै कालीकोटका धार्मिक, साँस्कृतिक प्राकृतिक र पर्यटकिय सम्भावनाहरुवारे जानकारी संकलन गर्दै सुर्खेतको बाटो समायांै । दैलेखको खिड्की ज्यु लामा स्थानीय नेता गणेश माझिले सञ्चालन गर्नु भएको माछापालन अवलोकन र खाजा पश्चात कर्णाली राजमार्गको बाटो राती १२ बजे सुर्खेत स्थित नेका सुर्खेतका पार्टी सचिव टोप बहादुर रावतको घर पुगेर बसियो । बिहान र दिनभर सुर्खेत स्थित साथीहरुसंगको भेटघाट अन्तरक्रिया र छलफल पश्चात साझ कर्णाली प्रदेशका अर्थमन्त्री माननीय प्रकाश ज्वाला ज्युसंग हाम्रो यात्राको उद्धेश्य, यात्रामा संगालेका अनुभव आफैले देखेका, अनुभुत गरेका र कर्णालीको विकाशका लागी राज्य र नागरिक स्तरबाट निर्वाह गर्नुपर्ने भुमिकाका सन्र्दभमा छलफल गर्दै यात्रा समापन गर्दै गर्दा हामीहरुले राज्यले अगाडी सारेको विकाश अवधारणा जनतामुखी हुनुपर्ने, विकाश योजना र अवधारणा निर्माण गर्दा पार्टीगत दृष्टिकोणलाई टाढा राख्नुपर्ने, बजेटको विनियोजन र वितरण आवश्यकतामा आधारित हुनुपर्ने, विकाश निमार्णका सवालमा राज्यले असमानता हटाउनुपर्ने र जनसहभागितामा आधारित विकाशलाई प्राथमिकतामा राखेर कर्णाली प्रदेशको विकाशमा योजना र चरणबद्ध रुपमा लगानी गर्दै कार्यान्वयन पक्षलाई बिषेश ध्यान दिनुपर्ने पँक्तिकारको निष्कर्ष हो । जसका लागी सुन्दर सुर्खेत उपत्यका, काँक्रेबिहार, देउतिबज्यै, भेरी नदिमा रयाफटिंग, दैलेखको ज्वालामुखी, श्रीस्थान, नाभिस्थान, पादुका, दुल्लु क्षेत्रको विकाश, कर्णाली नदिमा रयाफटिंग, जलविद्युतको विकास, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको शिघ्र निमार्ण, कालीकोटको पचाल झरणा लगायत धेरै धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरुको खोज, पहिचान विकाश र संरक्षण,जुम्ला उपत्यका,जुम्लाको स्याउको निर्यात र प्रशोधन, मार्सि धान, सिमी, फापर, आलु कोदो लगायत जंगली जडीबुटीको प्रशोधन गरी सहज निर्यात र बजार विस्तार र निकासी, भेडा तथा पशुपालन उन र उनिबाट निर्मित कपडाहरुको प्रचार प्रसार र विश्व बजारसम्म पुर्याउने व्यवस्थाका लागी राज्यले जागर तदारुकता र पहल लिनै पर्दछ भने स्थाीयले राज्यको प्रयासमा होस्टेमा हैसे गर्नेपर्दछ भन्ने हाम्रो यात्राको निष्कर्ष हो ।

त्यस्तै मुगुमा पशुपालन, राराको विकाश, छाँयानाथ, चंखेली लगायतका हिमाल आरोहन र पहिचान,हुम्ला हुदै कैलास मानसरोवर जाने तिर्थयात्रीहरुको सहजताका लागी सहज हवाई र सडक पहुच विस्तार, हुम्ला कर्णाली राजमार्ग विकाश र स्तरोन्नति, हिल्सा सडक खण्डको विकाश र विस्तार, हुम्लामा रहेका खार्पुनाथ, ठाकुर ज्यु लगायत दजनौ मठ मन्दिर, चैत्य गुम्बा र धार्मिक साँस्कृतिक सम्पदाहरुको विकास संरक्षण जिर्णोद्वार गर्दै कार्य अगाडी बडाउने, जाजरकोट दरबार, बारेकोट चाखुरे लेक हुदै जुम्ला सडक र बाटोको विकास, भेरी नदीमा थप जलविद्युत आयोजना, नलसिंहगाढ जलविद्युतको तिव्रतर विकाश, सानोभेरी र ठुलोभेरी नदीमा साहसिक जलयात्रा, रुकुमको चौजहारी विमानस्थल नियमित सेवा र विस्तार, जाजरकोट डोल्पा मोटर बाटो कालोपत्रे र स्तरोन्नति, दुनै र जुफाल विमानस्थलको स्तरोन्नति, त्रिपुरासुन्दरी मन्दिर धार्मिक पर्यटन र तिर्थयात्रा, सुलिगाड झरना हुँदै से फोक्सण्डो ताल र राष्टिय निकुञ्जको संरक्षण रुकुमको स्यार्पुताल, सानोभेरीमा जलयात्रा, डिग्रे शाईकुमारी मन्दिर, बुराल मष्ट मन्दिर, सिस्ने हिमाल, गोतामकोट चित्रिपाटन साहसिक पदमार्ग आडबिसकोट बजार बिस्तार विकाशलाई व्यवस्थित गर्ने रुकुमको सल्ले विमानस्थलबाट निजि हवाई क्मपनीको नियमित उडानलाई व्यवस्थित गर्न जरुरी देखिन्छ भने कोहलपुर, सुर्खेत र तुलसीपुर तिनै क्षेत्रबाट सल्यानको कुभिण्डेताल, खैराबांग भगवति छाँयाक्षेत्र धार्मिक तथा पर्यटकिय बाटो, सल्यानको अदुवाखेतिको बैज्ञानिकीकरण गर्दै उत्पादनमा बृद्धी र बजार निकासी र निर्यातको व्यवस्था गर्दै पश्चिम रुकुमलाई एकै करिडोरको रुपमा अगाडी बढाउने एक संकल्प योजना अगाढी बढाउदै कार्यान्वयन गर्न सक्ने दृढ इच्छाशक्ति सहितको योजना र नेतृत्व आवश्यक्ता आजको पुस्ताको लागी अवसर समेत रहेको कुरालाई सबैले आत्मसात र आत्मबोध गर्न जरुरी छ ।

विकासका लागी सदैव केन्द्रीय सरकारको मुख ताकेर बस्ने विगतको परम्पराको निरन्तरताबाट मुक्त हुँदै लगानी र लगानी सुरक्षाको वातावरण तयार गर्दै स्थानीय स्रोत साधन र जनशक्तिको भरपुर उपयोग गर्दै देढ इच्छाशक्तिका साथ लागीपर्ने हो भने कर्णालीको अथाह जल, जमिन, जंगल, जडीबुटी, खनीज, धार्मि, साँस्कृति, प्राचिन र पुरातात्विक महत्वका सम्पदाको संरक्षण, खोज, जिर्णोद्वार, विकास र विस्तार अनि विश्ववयापी रुपमा प्रचार प्रसार र पहिचान गर्दै बर्षेनी लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने हो भने कर्णाली प्रदेश र कर्णालीका जनताको मुहारमा हाँसो ल्याउन धेरै समय लाग्दैन ।
(नेता केसी हाल नेबिसंघ केन्द्रिय सदस्य हुन । )