आर्थिक

गुरुयोजना बनाई समृद्धिको मार्गमा लाग्न अर्थमन्त्री खतिवडाको सुझाव

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याए। गुरुयोजना बनाएर नयाँ ढङ्गले व्यवस्थापन गरी समृद्धिको मार्गमा लाग्न उनले संस्थानका पदाधिकारीलाई सुझाव दिए । संस्थानको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासको धरोहर गुठी संस्थानको अस्तित्व जोगाउँदै यसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याए ।

“सामाजिक पूँजी समृद्धिको महत्वपूर्ण आधार हो”, अर्थमन्त्री खतिवडाले भने “गुठी संस्थानले देशको समृद्धिमा पनि टेवा पु¥याउनुपर्छ, यसतर्फ तपाईहरुको ध्यान जाओस् ।” उनले सम्पत्ति जगेर्नाको नाममा आयआर्जन नगरी बस्नु विडम्बना हो भन्दै संस्थानको विकासका लागि छलफल गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताए ।

सरकारले गुठी संस्थानको मुआब्जा रकम नदिएको भन्ने प्रसङ्गलाई ईंकित गर्दै अर्थमन्त्री खतिवडाले परम्परागत संस्कृति संरक्षणसँगै आधुनिक विकासमा जान चुनौती रहेको बताए । “सरकार दुईवटै कार्यलाई सँगसँगै लैजाने योजनामा छ, कतै सरकारले त कतै गुठीले सहयोग गर्नुपर्छ ।” अर्थमन्त्री खतिवडाले भने ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गुठी संस्थानलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै समग्र सम्पत्ति उपयोगको रणनीतिक योजना बनाउन जरुरी रहेको बताए । कार्यक्रममा गुठी संस्थानका प्रशासक नारायण चौधरीले संस्थानको वार्षिक गतिविधिबारे जानकारी गराउँदै ऐन संशोधनका लागि बनेको विनियम मन्त्रालयमा अड्किएको बताए। यसका लागि सहजीकरण गर्न उनले अर्थमन्त्री खतिवडा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव मैनालीसँग अनुरोध गरे ।

सरकारले दिनुपर्ने मुआब्जा रकमसमेत उपलब्ध हुन नसकेको उनले बताए। विभिन्न क्षेत्रमा भूमाफियाले जग्गा अतिक्रमण गरेको तथा कर्मचारीको अभावमा प्रभावकारी काम गर्न नसकिएको चौधरीले स्वीकारे । संस्थानका अध्यक्ष मीनराज चौधरीले विभिन्न समस्याका बाबजुद संस्थानले काम गर्दै आएको जानकारी दिए । संस्थानले गएको वर्ष रु ३७ करोड ४५ लाख आम्दानी गरी रु २४ करोड एक लाख खर्च गरेको जनाएको छ । पच्चीस वर्ष काम गरेका संस्थानका कर्मचारीलाई आज दीर्घसेवा पदक प्रदान गरिएको थियो भने संस्थानको हितमा काम गर्ने विभिन्न व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थानको वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान, सरसफाइ कार्यक्रम र हाजिरीजवाफ प्रतियोगिता गरिएको महासचिव दीपकबहादुर पाण्डेले जानकारी दिए ।