राजनीति

चुनावमामात्र राजनीति गरौं अरुबेला सबै मिली देश बिकासमा जुटौंः डा कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका समयमा मात्र हुने बताउँदै कटुता त्यागेर देश विकास नै मुख्य प्राथमिकता हुनु पर्छ भनका छन् ।

उनले सङ्घीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल विभिन्न शक्तिकेन्द्रबाट शुरु भएको धारणा राख्दै सुशासनका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेस मोरङद्वारा शुक्रबार आयोजित दशैँतिहार छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकले आर्थिक समृद्धि हासिल गरेमा मात्र नेपाली जनता सुखी हुने बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थिरता भएको अहिलेको अवस्थामा आर्थिक समृद्धि कायम गर्नु पर्ने विचार व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको अध्याय समाप्त भएको बताउँदै अब मुलुकको आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिए।

रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले सबै पर्वले नेपालीबीच भाइचाराको सम्बन्ध बढाएको बताए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का गणेश उप्रेतीले देश अब दिगो विकासतर्फ अग्रसर हुनुपर्ने बताए ।

नेपाली काङ्ग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुको सभापतित्वमा भएको उक्त शुभकामना कार्यक्रममा प्रदेशसभा सदस्य शिवनारायण गन्गाईले काङ्ग्रेसले विगतदेखिकै आपसी सद्भाव कायम राख्ने परम्परालाई निरन्तरता दिन कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरु ।