प्रदेश 2

चाँदीका गहना बरामद

पर्सा । जिल्ला प्रहरी कार्यालयले आज अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद गरेको छ । वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ३९७९ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले रु छ लाख २७ हजार मूल्य बराबरका १४ किलो ६७५ ग्राम चाँदीका गहनामा बेवारिसे अवस्थामा बरामद गरेको हो । बसलाई गण्डक चोकमा रोकी जाँच गर्दा सिटमुनि लुकाइराखेको झोलाबाट उक्त परिमाणको गहना बरामद गरिएकोे प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

बरामद गहनाको कसैले जिम्मेवारी नलिएको बताइएको छ । बरामद गरिएका गहनामा पाउजू, औँठी, विभिन्न देवीदेवताका मूर्ति, कानको बाली, विक्षियालगायत गहना रहेका छन् । गहनालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।