खेलकुद

महिला फुटबल टोली सम्मानित

काठमाडौँ । भुटानको थिम्पुमा भएको साफ यु–१८ च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नगदसहित सम्मान गरेको छ । आज एन्फामा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराएको रु ५० हजार प्रदान गरे ।

सो अवसरमा सदस्य सचिव विष्टले नेपाली महिला फुटबल खेलाडीले राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन्, त्यो अविस्मरणीय भएको भन्दै खेलाडीले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रको आधिकारिक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भएपश्चात् राष्ट्रका तर्फबाट पनि सम्मानका लागि पहल गर्ने बताए ।

गत सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको साफ यु–१८ च्याम्पियनसिपमा नेपाली महिला टोलीले पाकिस्तानलाई शुन्यका बिरुद्ध १३ गोलले पराजित गरेको थियो । यस्तै बङ्गलादेशसँग दुईका बिरुद्ध एक गोलले पराजित भएता पनि सेमिफाइनल प्रवेश गरेको नेपालले भारतलाई एक/एक गोलको बराबरीपश्चात् टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यस्तै फाइनलमा पुनः बङ्गलादेशसँग एकका बिरुद्ध शुन्य गोलले पराजय हुँदै उपविजयी भएको थियो । सोही महिला फुटबल टोलीले थाइल्याण्डमा भएको एएफसी यु–१९ को पहिलो चरणको छनोट पार गर्दै इतिहास रच्न सफल भएको थियो ।

एएफसीको अनुदान रकममा वृद्धि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपालको फुटबल विकासका लागि एशियाली फुटबल महासङ्घ (एएफसी) बाट पाउने अनुदान रकममा ३३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । मलेसियामा सम्पन्न एएफसीको २८ औँ काङ्ग्रेसपछि एन्फाले अब वार्षिक रु १४ करोड अनुदान पाउने भएको हो । यसअघि वार्षिक रु नौ करोड पाउँदै आएको थियो ।

एन्फा विदेश विभाग प्रमुख नवीन पाण्डेले नेपालले पाउने अनुदानमा एएफसीले ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिए । उक्त सहयोग एन्फाले पूर्वाधार निर्माण, प्रशिक्षक शिक्षा, सञ्चालन खर्च गर्दै आएको छ । काङ्ग्रेससमा सहभागी हुन पाण्डेसहित एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, प्रवक्ता किरण राई अहिले मलेसियामा छन् ।