शिक्षा

शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रको विकासका लागि दक्षिण कोरियाली सहयोग महत्वपूर्ण रहेको बताए ।

दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भइरहेको भन्दै उनले आगामी दिनमा थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरे । शिक्षा मन्त्रालय पुग्नु दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा कोरियाबाट सहयोग मिलेको बताए । दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीका अवसर प्राप्त भएको र नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको उल्लेख गरे ।

हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहु प्राविधिक शिक्षालय स्थापनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको उनले अवगत गराए । संविधान र सङ्घीयताको कार्यान्वयनसँगै मुलुक समृद्धितर्फ उन्मुख भएको भन्दै उनले समृद्धिको अभियानमा कोरियाजस्तो मुलुकको सहयोग महत्वपूर्ण हुने बताए । राजदूत पार्कले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासका लागि सरकारले लिएको नीति सकारात्मक रहेको भन्दै यस क्षेत्रमा थप सहयोग गर्ने विश्वास दिलाएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।