राजनीति

समृद्ध मुलुक बनाउन दलबीच सहकार्य आवश्यक: नेता भण्डारी

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए । चाडपर्वका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “साँच्चै नै मुलुकलाई समृद्ध बनाउने हो भने सबै दलबीच सहकार्य गरौँ ।”

नेता भण्डारीले बाटोे पूर्वाधार निर्माण, पर्यटन विकास र जलविद्युत्का क्षेत्रमा मिलेर काम गर्न सके समयमै विकास योजना पूरा हुने बताउँदै लाखौँ युवा विदेशमा पसिना बगाउन बाध्य रहेको हुँदा यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकलगायतले सबै राजनीतिक दलको सहकार्यले मात्रै मुलुकको समृद्धि सम्भव हुने धारणा व्यक्त गरे ।