समाचार

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ ।

कोषको भाखा नाघेको कर्जा उठन बाँकी रु २७ करोड पाँच लाख ६४ हजार ५७९ रहेको छ । सो कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले बताए । कोषले हालसम्म रु तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ लगानी गरेको छ । त्यसमध्ये रु चार अरब २२ करोड सात लाख ४१ हजार १०४ लगानीमा रहेको छ ।

नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो । आर्थिकरूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवार एवं परम्परागतरूपबाट पिछडिएका जातजाति र वर्गलाई तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ ।

कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न व्यक्तिलाई प्रतिव्यक्ति रु दुई लाखसम्म र समूहमा काम गर्न चाहेमा बढीमा २५ जनाको समूहलाई अधिकतम रु ५० लाखसम्म आवधिक ऋण बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्ने गरेको छ ।

युवालाई स्वरोजगार बन्न तथा उद्यमशीलतालाई दिगो र सफल बनाउन आवश्यक व्यावसायिक तालीम निःशुल्क प्रदान गर्ने, स्वरोजगार बन्न आवश्यक पूँजी उपलब्ध गराएर विदेश पलायन हुने प्रवृत्तिलाई क्रमिकरुपमा घटाउँदै देश विकासमा टेवा पु¥याउने लक्ष्य रहेको छ । कोषको उद्देश्य र लक्षित कार्यक्रममा लगानी गरे÷नगरेको पनि अनुगमन गरिरहेको र कर्जा भूक्तानीका लागिसमेत ताकेता गरिरहेको कोषका कार्यकारी निर्देशक डा गौतमले जानकारी दिए ।