सुदूरपश्चिम

नेपाल कम्युनिष्ट पार्टी: एकताको प्रक्रिया टुङ्गो

डडेल्धुरा । डडेल्धुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका स्थानीय तह र वडामा नेतृत्वको बाँडफाँट गरी पार्टी एकतालाई पूर्णता दिएको छ ।

जिल्लास्तरीय कार्यदलको बिहीबार सम्पन्न बैठकले एकतापछिको जिल्लाको भागबण्डा टुङ्ग्याएको हो । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये अमरगढी नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र पर्शुराम नगरपालिकासहित तीन वटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व हुने भएको छ ।

तत्कालीन एमालेलाई अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा नेतृत्व पाउने भएको छ भने तत्कालीन माओवादी केन्द्रले पर्शुराम नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको छ । जिल्लाका ५२ वडामा समेत नेतृत्वको बाँडफाँट गरिएको छ । जसअनुसार तत्कालीन एमालेलाई २८ वडा र तत्कालीन माओवादी केन्द्रले २४ वडामा नेतृत्व पाउने भएको छ ।

नेकपाको कार्यदलको बैठक सकिएपछि बाँडफाँट गरिएका पालिका तथा वडाको विवरण प्रदेश कमिटीमा पठाइने तत्कालीन एमालेका तर्फबाट कार्यदलका सदस्य वीरेन्द्र बस्नेतले जानकारी दिए। बैठकबाट सर्वसम्मतरुपमा भएको भागबण्डालाई प्रदेश कमिटीले अनुमोदन गरेपछि मात्रै गाउँ तथा वडा कमिटीले पूर्णता पाउने तत्कालीन माओवादी केन्द्रबाट कार्यदलका सदस्य मानसिंह मालले बताए ।

समृद्धिका लागि सबै तह एकजुट

समृद्ध डडेल्धुरा निर्माणका लागि यहाँका स्थानीय तह एकजुट भएका छन् । डडेल्धुराका सातवटै स्थानीय तह समग्र विकासका लागि एकजुट भएका छन् । राजनीतिक हिसाबले भिन्न विचारबाट आएका भए पनि समृद्ध डडेल्धुरा निर्माणका लागि एकजुट हुनुपर्ने भन्दै डडेल्धुराका सातवटै स्थानीय तहका जनप्रतिनिधि एकजुट भएका हुन् । यहीअनुरुप प्रत्येक दुई महीनामा पालैपालो स्थानीय तहले बैठकको आयोजना गर्ने गरेका छन् । स्वास्थ्य, शिक्षा, पर्यटनजस्ता विकासका साझा मुद्दाको पहिचान गरी बैठकबाट पास गराइने गरेको स्थानीय तहले जनाएका छन् ।

जिल्लामा रहेका दुई वटा नगरपालिका र पाँच गाउँपालिका सहित जिल्ला समन्वय समितिका बीच हुने बैठकले जिल्लाको समग्र विकासमा टेवा पुग्नुका साथै एकअर्का स्थानीय तहले गरेको कामको सिको गर्न सकिने जनप्रतिनिधिको भनाइ छ । स्थानीय तहले गरेका राम्रा प्रयासका बारेमा समेत बैठकमा छलफल गरी सिको गर्ने गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए ।

हालसम्म बसेका बैठकले उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई मेडिकल कलेजका रुपमा विकास गर्ने, पर्यटनका लागि सातवटै स्थानीय तहमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्नका लागि करिडोर बनाउने, शिक्षा क्षेत्रमा देखिएको विकृति र विसङ्गतिलाई हटाउने, जिल्लामा भइरहेको अतिक्रमणलाई हटाउनका लागि पहल गर्ने लगायतका निर्णय गरेको जनप्रतिनिधिको भनाइ छ ।

स्थानीय तहका बीचमा हुने आपसी समझदारीबाट जिल्लाको विकासमा सहयोग पुग्ने आम सर्वसाधारणले पनि विश्वास लिएका छन् । डडेल्धुराका स्थानीय तहले गरेको कामलाई देशका अन्य स्थानीय तहले पनि सिको गरी आ–आफ्नो जिल्लाको विकास गर्नमा लाग्नुपर्ने जिल्ला समन्वय समितिको प्रमुख गणेशराज भट्टले बताए ।