लुम्बिनी

घरेलु उद्योगलाई कच्चा पदार्थको अभाव

नेपालगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७८९ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ मा ३९० उद्योग मात्र नवीकरण गरिएका छन् । कार्यालयका निमित्त प्रमुख दुर्गा ओलीका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी २४८ कृषि तथा वनजन्य उद्योग रहेका छन् । लयका निमित्त प्रमुख दुर्गा ओलीले बताए । निजी फार्मले दर्ता गरेका उद्योग पाँच वर्षसम्म नवीकरण गराउनु पर्दैन । पाँच वर्षपछि मात्र दुई–दुई वर्षमा नवीकरण गराउनुपर्ने प्रावधान छ । साझेदारी उद्योग प्रत्येक वर्ष नवीकरण गराउनुपर्छ भने निजी उद्योगको लेखापरीक्षण प्रतिवेदन मात्र बुझाउनुपर्छ ।

जिल्लाका धरैजसो उद्योगले प्रतिस्पर्धाका कारण पहिला जस्तो मुनाफा गर्न सकेका छैनन् । “शुरुआतमा पर्याप्त आम्दानी भए पनि अहिले विभिन्न चुनौती खेप्नु परिरहेको छ,” भोलेबाबा फर्निचर उद्योगका सञ्चालक राजकिशोर चौधरीले भने । जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक उद्योग १९२, कृषि तथा वनजन्य उद्योग २४८, पर्यटन १७३ र सेवामूलक उद्योग १७६ दर्ता छन् । यहाँ सञ्चालित घरेलु तथा साना उद्योगमा करीब पाँच हजार जनाले रोजगारी पाएका छन् ।

अधिकांश उद्योगले कच्चा पदार्थ, दक्ष जनशक्ति तथा बजारको समस्या भोग्नु परेको छ । “कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्छ, दक्ष जनशक्तिको अभाव छ,” उद्योगपति प्रभात ठकुरीले गुनासो गरे । जिल्लामा दर्ता भएका सबै उद्योगमा रु एक अर्ब २२ करोडभन्दा बढी लगानी गरिएको छ । ती उद्योगबाट वार्षिक रु तीन अर्ब ७७ करोडभन्दा बढीको सामान उत्पादन हुन्छ । घरेलु तथा साना उद्योगबाट वार्षिक रु ६३ लाखभन्दा बढी राजश्व सङ्कलन हुने गरेको छ ।

हात्तीसार हटाउन माग

बाँकेको राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको चङ्गाईनालामा निर्माण गरिएको हात्तीसार हटाउन स्थानीयवासीले प्रदेश नं ५ का सांसद कृष्णा केसी समक्ष माग राखेका छन् । निकुञ्जले मध्यवर्ती क्षेत्रको बुचापुर, खड्गवार र चङ्गाईनालामा हात्तीसार निमार्ण गरेको छ ।

चङ्गाईनालामा निमार्ण गरिएको हात्तीसार स्थानीयवासीको हित विपरीत भएको बागेसाल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनन्द उपाध्यायले बताए । ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सचिव रोशनकुमार वली र प्रगतिशील मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दलबहादुर खड्काले भने मध्यवर्ती क्षेत्रभन्दा बाहिरका केही व्यक्तिले चङ्गाईनालाबाट हात्तीसार नहटाउन चलखेल गरिरहेको आरोप लगाए ।

हात्तीका लागि घाँस, पानी तथा अन्य कुराका लागि बुचापुर उपयुक्त स्थान भएकाले बुचापुरमा नै हात्तीसार राख्नुपर्ने स्थानीयवासीको माग छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिलबहादुर पुर्जापुनले विभागले पठाएको टोलीको सल्लाह सुझाव अनुसार नै हात्तीसार निर्माण गरिएको बताए । निकुञ्जको हात्तीसारमा हाल चार हात्ती छन् ।