पर्यटन/संस्कृति

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ ।

ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आइसफल क्षेत्र समेटिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुइसे हुँदै धौलागिरि आइसफल क्षेत्र समेटिनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिमबहादुर कटुवालले बताए ।

“अहिलेसम्म ओझेल परेको यो क्षेत्र सरकारको प्राथमिकतामा परेको छ, स्थानीयस्तरबाट भएका प्रयास सार्थक बन्दैछन् ”, उनले भने । रुइसे हुँदै धोलागिरि आइसफलसँगै सरकारले म्याग्दीकै घोरेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सूचीमा राखेको छ । पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्य सूचीमा राखेको छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ७ को सीमा क्षेत्रलाई समेटिएको रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र धौलागिरि र अन्नपूर्णक्षेत्रका हिमालको अवलोकनका लागि उत्तम मानिन्छ । सो मार्ग म्याग्दीबाट मुस्ताङ निस्कने वैकल्पिक नयाँ पदमार्गसमेत हो । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यूटावर निर्माण शुरु गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यअनुसार मन्त्रीस्तरको निर्णयबाट छनोट गरिएका १०० नयाँ पर्यटकीय गन्तव्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिश गरिएका हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दाबढी स्थान प्रस्तावित भएकोमध्ये मन्त्रालयले विभिन्न आधार तयार गरी छनोट गरेको हो । ‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन र विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न शुरुआत गर्नेछ । नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारले रु ५० करोड छुट्याएको छ ।