प्रदेश 1

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

पशुपतिनगर । सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो ।

पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा सार्वजनिक यातायातमा अनिवार्य यात्रुलाई टिकट दिने कार्य शुरु भएको हो । सूर्योदय जिप तथा ट्याक्सी कम्पनी प्रालिको आयोजनामा बिहीबार सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यातायात व्यवसायीका प्रतिनिधिलाई टिकट बुक हस्तान्तरण गरे ।

उनले यात्रुलाई प्रदान गरिने टिकटमा ठाउँको समेत नाम राखेर भाडादर लेखिनुपर्नेमा जोड दिए । सरकारले इलामको फिक्कलबाट विर्तामोडसम्म रु १५०, इलामसम्म रु १५०, पशुपतिनगरसम्म रु ५०, कुटिडाँडासम्म रु ५०, श्रीअन्तुको भञ्ज्याङसम्म रु १२० र तीनघरेसम्म रु ५० भाडादर निर्धारण गरेकोे छ । त्यस्तै फिक्कलबाट नयाँबजारसम्म रु १८०, गोर्खेसम्म रु १०० भाडादर तोकिएको छ ।