लुम्बिनी

समबन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी

घोराही । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो ।

अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । यसअघि उक्त अदालतमा ११७ सम्बन्ध विच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेको थियो । उक्त संहिताबमोजिम पुरुषले पनि सिधैँ अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको सङ्ख्या बढ्न थालेको उक्त अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिए । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको उनले बताए ।