प्रदेश 1

नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छः मन्त्री घिमिरे

खाँदबारी । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताएका छन् ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उनले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताए ।
“प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ”, मन्त्री घिमिरेले भने, “नाम र राजधानीका विषयमा बहस भइरहेको छ ।” सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उनले किमाथाङ्का– जोगवनी सडक जोडिएपछि प्रदेश १ लाई यसले समृद्ध बनाउने र पर्यटकीय हिसाबले पनि यो जिल्लाको महत्व बढेको छ भने ।