शिक्षा

विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४औँ संस्करण शुरु

काठमाडौँ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४औँ संस्करण यहाँस्थित ग्यालेक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा शुरु भएको छ ।

क्वेष्ट नेपालले आयोजना गरेको तीने दिनेसम्म चल्ने कार्यक्रममा सातै प्रदेशका विभिन्न ९० विद्यालयका उत्कृष्ट एक हजार दुई छात्र/छात्राको सहभागिता छ । साथै अमेरिका, स्वीट्जरल्याण्ड, भारतका शिक्षाविद्ले सम्मेलनमा सहभागीलाई दीक्षा प्रदान गर्नेछन् । सन् २००५ देखि हरेक वर्ष यस्तो सम्मेलन आयोजना हुँदै आएको छ ।

विद्यार्थीको गुणीय चक्रले उनीहरूलाई सर्वगुण सम्पन्न बनाउन सहयोग गर्दछ । प्रा डा दिनेश चापागाईँ नेपालमा सन् १९९९ देखि यो शिक्षण विधीलाई नेपालमा भित्र्याएको थियो । विशेषरुपमा गुणीय चक्र पठनले विद्यालय तहका छात्र÷छात्रालाई आफ्नो पठनलगायत अतिरिक्त क्षेत्रमा चलाख बनाउन सहयोग पु¥याउँछ । सर्वप्रथम जापानबाट शुरु भएको कार्यक्रम हाल विश्वका २५ भन्दा बढी देशमा लोकप्रिय छ ।

देशभरका करीब २०० निजी विद्यालयका सहायक पाठ्यक्रम तथा पाठ्यक्रमका रुपमा गुणीय चक्रको पठनपाठन तथा प्रशिक्षणसमेत हुँदै आएको छ । देशका उत्कृष्ट छात्र/छात्राले छ महीना लगायर तयार पारेका अध्ययन र प्रतिवेदनलाई पेश गर्ने छन् । साथै सिर्जनात्मक चित्रकला, कथा, हिज्जे, हाजिरी जवाफलगायतका विभिन्न खेलकूदका कार्यक्रमसमेत सञ्चालन हुने छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्मेलनको शुभारम्भ गर्दै विद्यालय तहका छात्र/छात्राको प्रतिभा प्रस्फुटन, उनीहरुलाई सामाजिक सिर्जनात्मक बनाउन तथा उनीहरुका आफ्ना समस्या आफैं समाधान गर्न गुणीय चक्र पठन तथा प्रशिक्षण प्रभावकारी भएको चर्चा गर्दै यसलाई सस्थागत विद्यालयमा पनि लागू गर्न आवश्यक छ भने ।

उनले गुणस्तरीय शिक्षाका लागि सरकारकारले आवश्यक नीति नियम परिमार्जन गर्दै गएको जानकारीसमेत दिए । क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जन, सल्लाहकार गीता राणा तथा सदस्य मोहनबहादुर कार्कीले कार्यक्रमले छात्र/छात्राको बहुपक्षीय क्षमतालाई उजागर गर्न राष्ट्रिय मञ्चका रुपमा काम गरिराखेको चर्चा गरे ।