अन्तर्राष्ट्रिय

श्रीलङ्कामा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाक्नु भएको छ । अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन् । राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए । संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिङ्घेको सट्टामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

विक्रमासिङ्घेले राष्ट्रपतिको कदमलाई खारेज गर्नुका साथै प्रधानमन्त्रीको सरकारी निवास छाड्न अस्वीकार गरेका छन् । “बुधबार साँझ राष्ट्रपति र संसदका सभामुखबीच भेटवार्ता भयो । यो एक किसिमको मध्यस्थता हो,” वार्तामा सहभागी एकजना अधिकारीले बताए । “अन्यथा, सभामुखले राष्ट्रपतिको कदमलाई बेवास्ता गरी शुक्रबार संसदको बैठक आह्वान गर्ने तयारी भएको थियो ।” संसदमा यो सङ्कटका बारेमा सोमबार मतदान हुने नहुने विषय भने स्पष्ट भइसकेको छैन ।