कृषि

मासुको मूल्यमा गिरावट आएपछि कुखुरापालक किसान मर्कामा

चितवन । ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ ।

नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री गर्दा किसानले रु ५० भन्दा बढी नोक्सान व्यहोरिरहेका छन् । किसानले एउटा चल्ला रु ९० मा खरीद गर्ने गरेका छन् । किसानले कुखुरा बिक्री गर्ने बेलासम्म चार किलो दाना, औषधि, श्रम, भाडालगायत खर्च गर्दा प्रति कुखराको मूल्य रु ४२५ भन्दा बढी पर्छ । किसानले एउटा कुखुरा रु ३७५ मा बिक्री गर्ने गरेको पौडेलले बताए ।

“साना किसानले निरन्तर घाटा व्यहोर्नु परिरहेको छ,” उनले भने । देशभर २६ हजारभन्दा बढी साना किसानले ब्वायलर कुखुरापालन गरिरहेका छन् । मासु बिक्री गर्ने ठूला व्यापारीले चिस्यान केन्द्रमा मासु थुपार्ने गरेका छन् । मासु सकिँदा मूल्य घटाइदिने र सस्तोमा कुखुरा खरीद गर्ने गरेका छन् भने मासु थुपिँदा मूल्य बढाइदिने गरेका कारण समस्या भएको पौडेलले बताए ।

कुखुरापालन व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेतले मासुको मूल्य प्रतिकिलो रु ३०० भन्दा बढी नभएसम्म किसानलाई फाइदा नहुने बताए । दशैँको समयमा खसी र राँगा धेरै काटिँदा त्यसको सुकुटी बनाएर राख्ने गरेका कारण कुखुराको मूल्यमा कमी आएको उनले बताए । नेपाल कुखुरापालन महासङ्घका अध्यक्ष गुणचन्द्र बिष्टले उच्चस्तरको प्रविधिमा कुखुरा पाल्न सकेमा यही दरभाउले नाफा हुने भए पनि अहिलेको प्रविधिमा नोक्सान हुने बताए । अवैध रुपमा भित्रिने भारतीय मासुका कारण पनि मूल्यमा कमी आएको उनको भनाइ छ । नेपालमा अन्य पेशा व्यवसाय गर्न नसक्ने किसानले आफ्नै बारीमा वा खोर भाडामा लिएर ब्वायलर कुखुरा पाल्ने गर्दछन् । समय समयमा दरभाउ तलमाथि हुँदा ऋणमा व्यवसाय गर्ने मर्कामा पर्ने गरेका छन् ।

सात अर्ब राजश्व

आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा झण्डै रु सात अर्ब ३४ करोड राजश्व सङ्कलन गरेको छ । लक्ष्यको ११८ प्रतिशत राजश्व सङ्कलन भएको हो । कार्यालयले चालू आवकोे तीन महीनामा आयकर रु ३१ करोड ४३ लाख ४१ हजार, ब्याजकर रु तीन करोड ९६ लाख, मूल्य अभिवृद्धि कर रु ३९ करोड २६ लाख ४६ हजार र अन्तःशुल्क रु ६ अर्ब ५५ करोड ७९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यही अवधिमा रु पाँच अर्ब दुई करोड १८ लाख ४८ हजार राजश्व सङ्कलन भएको थियो ।

कार्यालयका अनुसार साउनयता दुई हजार ५७९ नयाँ करदाता थपिएका छन् । असोज ७ गतेदेखि नवलपुर जिल्लामा पनि सेवा कार्यालय स्थापना भएको छ । नवलपुरको कावासोतीस्थित सेवा कार्यालयबाट राजश्व सङ्कलन गर्न सकिने भएकाले राजश्व कार्यालय भरतपुरमा सेवाग्राहीको चाप कम भएको छ । कार्यालयका प्रमुख शुभ रिजालका अनुसार कर परीक्षण र अनुसन्धानका काम भने भरतपुरबाटै हुनेछन् । त्यस्तै नवलपुरका करदाताले अन्तःशुल्क कर पनि आन्तरिक राजश्व कार्यालय भरतपुरमा नै बुझाउनुपर्ने उनले बताए ।

आन्तरिक राजश्व विभागले यस कार्यालयका लागि रु २७ अर्ब ६१ करोड ३६ लाख ५३ हजार वार्षिक लक्ष्य निर्धारण गरेको छ । गत आवमा कार्यालयले रु २१ अर्ब ८१ करोड ३१ लाख २१ हजार राजश्व सङ्कलन गरेको थियो । यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले अधिकांश राजश्वको हिस्सा अन्तःशुल्कबाट सङ्कलन हुने गर्दछ । कार्यालयअन्तर्गत प्यान लिएका ३२ हजार ६९५ र व्यक्तिगत प्यान लिएका ४८ हजार ३७१ करदाता छन् । मूल्य अभिवृद्धि कर (भ्याट) मा सात हजार ७३५ करदाता दर्ता भई अन्तःशुल्कतर्फ तीन हजार ४४३ करदाताले इजाजत नवीकरण गरेको कार्यालयले जनाएको छ ।

हिउँदमा गैँडा गणना

चितवन राष्ट्रिय निकुञ्जसहित नेपालका गैँडा रहेका निकुञ्जमा आउँदो हिउँदमा गैँडा गणना गर्ने तयारी भइरहेको छ । गत वर्षको वर्खामा राप्ती र नारायणी नदीले गैँडा बगाएको थियो । त्यतिबेला नौ गैँडा भारतबाट उद्धार गरी ल्याइएको थियो । थप गैँडा बगाएको र मरेको आशङ्का गरिएको भए पनि यकिन तथ्याङ्क छैन । चार वर्षको फरकमा गैँडा गणना गरिन्छ । हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।