प्रदेश 1

खुला दिसामुक्त क्षेत्र घोषणा

विराटनगर । विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकामा १९ वडा रहेकामा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । दुई महीनामा सो वडा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । विराटनगरमा हाल ९९.४ प्रतिशत चर्पी निर्माण भइसकेको छ । वडा नं ४ मा तीन हजार १४५, वडा नं १२ मा दुई हजार ७७४ र वडा नं १४ मा एक हजार ९११ घरधुरीमा शत्प्रतिशत चर्पी निर्माण भएपछि खुला दिसामुक्त वडा घोषणा भएको प्रमुख पराजुलीले बताए ।

यसैबीच महानगरपालिकामा आजदेखि न्यायिक समितिको नवनिर्मित इजलास सञ्चालनमा आएको छ । इजलासको अभावमा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीकै कार्यकक्षमा मुद्दाहरु फैसला हुने गरेको थियो । हालसम्ममा सो समितिमा परेका ८० मध्ये २० वटा मुद्दाको किनारा लगाइएको छ ।