समाचार

नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथर । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो ।

अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो । सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको पालिका अध्यक्ष लेखनाथ घिमिरेले जनाए । अनुगमन टोली हालै सीमा क्षेत्र पुगेर अनुगमन गरिएको सांसद नेम्बाङले जानकारी दिए । नेपाल–भारत सीमा क्षेत्र ४७ नं सीमा स्तम्भआसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा सिक्कीम प्रदेशका एसआरपी र नेपालका अनुगमन टोलीबीच बैठक बसी विभिन्न सहमति भएको नेम्बाङले जानकारी दिए ।

बैठकमा पाँचथरतर्फ सुरक्षापोष्ट राख्न चित्रे, वासुम डाँडालगायत सुविधायुक्त दुई ठाउँ छनौट गर्न पालिका अध्यक्षलाई जिम्मा दिइएको जिससप्रमुख सापकोटाले बताए । अनुगमनका क्रममा पाँचथरका अनुगमन टोली र सिक्कीम प्रदेश सुरक्षाप्रमुख लक्ष्मण गुरुङसहितको सुरक्षाबीच बैठक बसेको थियो ।

बैठकमा सिक्किम र पाँचथर जोड्ने सिमानाका चिवाभञ्जाङसम्म सडक निर्माण भइरहेका बारे सिक्किम सुरक्षाप्रमुख गुरुङले आफ्नो प्रस्तुति गरेका थिए । पाँचथरका तर्फबाट निकट भविष्यमा नै नाका खोल्न दुवै देशमा पहल गरिने सांसद नेम्वाङले बताए । अनुगमनपछि सांसद नेम्बाङले सांसदको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय तहसँग सहकार्य गरी पर्यटक अतिथि भवनको सम्भाव्यताअवलोकन गर्ने बताए । पाँचथर, ताप्लेजुङ, सयुक्तरुपमा सङ्घ र प्रदेश सांसदको उपस्थितिमा भारत र नेपाल दुवै देशलाई फाइदा हुने गरी नाका खोलिने समेत पहल शुरु भएको समेत उनले बताए ।

सीमा क्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हातहतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाउने पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।