कृषि

पीडित किसानको मौरी फार्ममा मन्त्री

घोराही । प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एक साताअघि विषादी हाली ४४ घार मौरी नष्ट पारिएको स्थान घोराही १२ सिस्नेरी गाउँको अवलोकन गरे।

अज्ञात व्यक्तिले विषादी हालिदिँदा निरास भएका मौरीपालक किसान विकास नेपाललाई भेट्दै उनले हतोत्साहित नहुन आग्रह गर्नाका साथै विषादी हाल्नेको खोजी गरी हदैसम्मको कारवाही गरिने बताए । व्यावसायिक रूपमा मौरीपालन गरिरहेको किसानको मौरी घारमा पटकपटक विषादी हाल्ने काम भएको सुन्नमा आएको भन्दै मन्त्री पौडेलले यस्ता कार्य गर्नेलाई जसरी भए पनि कारवाहीको दायरामा ल्याइने बताए।

सिस्नेरीमा २० दिन पहिले मौरी चराउन लगेका चितवनका विकास नेपालको गत साता ४५० मध्ये ४४ घारमा विषादी हालिएको थियो । सोही स्थानमा नष्ट भएका मौरीको घार हेर्दै मन्त्री पौडेलले यस्ता गतिविधि गर्ने आपराधिक मानसिकताका व्यक्ति पहिचान गरी स्थानीय प्रशासनमार्फत कारवाही गरिने र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिने आश्वासनसमेत दिए ।