राजनीति

कांग्रेस महासमिति बैठकको तयारी तीब्र, राजनीतिक प्रस्तावका लागि गृहकार्य अघि बढ्यो

ललितपुर । नेपाली काँग्रेसले आगामी मङ्सिरमा हुने महासमिति बैठकको तयारीलाई तीब्रता दिएको छ ।

मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा हुने महासमितिको बैठकमा प्रस्तुत गरिने विभिन्न प्रस्तावहरूलाई अन्तिम रूप दिनका लागि सम्बन्धित समितिहरु जुटिरहेका छन् । महासमितिको बैठकमा लैजाने राजनीतिक प्रस्तावका लागि पनि गृहकार्य भइरहेको छ । पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताव मस्यौदा तयारी समितिले पार्टी कार्यालय सानेपामा बुधबार राजनीतिक प्रस्ताव तयार गर्नकै लागि छलफलको आयोजना ग¥यो ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले यसले सबैको भावनाको प्रतिनिधित्व गर्दै अगाडि बढ्ने बताए । उनले लोकतान्त्रिक पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउँदा थप प्रभावकारी होला भनेर नै सबैको सुझाव सङ्कलन गरिएको स्पष्ट पारे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत नेपाली काँग्रेसका केन्द्रीय समितिका सदस्यहरू, भ्रातृ एवं विभिन्न पेशा व्यवसायसँग आवद्ध शुभेच्छुक संस्थाका प्रतिनिधि, सामाजिक अगुवा र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

सहभागीहरूले नेपाली काँग्रेसले सात दशकदेखिको प्रयास गरेर ल्याएको सङ्घीय गणतन्त्रलगायतका सम्पूर्ण उपलब्धिलाई संरक्षण गरेर अगाडि बढाउने दायित्व पनि बहन गर्नुपर्ने सुझाव दिएका थिए ।

सहभागीहरूले वर्तमान सरकार हालका उपलब्धिहरूलाई संस्थागत गर्न भन्दा पनि उपेक्षा गर्दै अगाडि बढिरहेको, आवश्यक कानुन निर्माण गर्न गर्न ढिलाइ गरेको, कर्मचारी व्यवस्थापन र स्रोत ब्यवस्थापन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली काँग्रेसले जिम्मेवार भएर काम गर्न सुझाव दिएका थिए ।

पार्टीका केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले समितिले सकेसम्म प्रदेश तहसम्म पुगी बढी भन्दा बढी व्यक्तिहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने बताए ।

उपसभापति निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताब तयारी समितिमा केन्द्रीय सदस्यहरू अजुर्ननरसिंह केसी, महेश आचार्य, नरहरि आचार्य, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, जीवन परियारलगायत १७ सदस्य रहेका छन् ।

यसैबीच महासमिति बैठकमा पेस गरिने विधान शंसोधन मस्यौदा तयारी समितिले आफ्नो काम अन्तिम चरणमा पु¥याएको छ ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकतत्वमा गठन भएको समितिले सातै प्रदेशमा छलफल गरेर विधान संशोधनलाई अन्तिम रुप दिइसकेको समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिए । समितिले तयार पारेको मस्यौदा बिहीबार बस्ने १३ सदस्यीय पूर्ण बैठकले विस्तृत अध्ययन गरेपछि १७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने उनले जानकारी दिए ।