समाचार

बिजुली बस काठमाडौंमा, चार्जिङ स्टेसन लुम्बिनीमा

लुम्बिनी । लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका विद्युतीय बस अहिले काठमाडौंका सडकहरुमा गुडिरहेका छन् । ती बसका चार्जिङ स्टेसन भने लुम्बिनीमा निर्माण भइरहेको छ । काठमाडौंभन्दा दुई गुणा बढी प्रदूषण चपेटामा परेको लुम्बिनीमा  चलाउन बस ल्याइएको थियो ।

सरोकारवालालाई थाहै नदिई एक्कासि बस काठमाडौं पुर्‍याइएपछि लुम्बिनीमा आक्रोश व्यक्त बढेको छ । बसका लागि लाखौं लगानीमा त्यहाँ ब्याट्रीचार्ज गर्ने मेसिन जडान भइरहेको छ ।

पर्यटन मन्त्रालयले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा लुम्बिनी विकास कोषका लागि ९ जनवरी २०१८ मा विद्युतीय बस, जिप र भ्यान उपलब्ध गराउने सम्झौता गरेको थियो । लुम्बिनीका लागि ल्याइएका बस सुटुक्क काठमाडौं लगी प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका थिए । त्यसको यहाँ व्यापक विरोध भइरहेको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको पूर्व र निर्माणाधीन सभाहलको दक्षिणमा चार्जिङ स्टेसन बन्दै छ । १६० वाई १६० वर्गमिटर क्षेत्रफलमा रहेका रुखविरुवा हटाएर सफा गरिएको छ । निर्माण कम्पनी ईशाका जापानका प्रतिनिधि त्यहाँ आइसकेका छन् । तीन साताभन्दा बढी लगाएर रुखबिरुवा हटाइएको कोषका निमित्त सदस्यसचिव तथा प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले बताए ।

सोलार प्यानल र ब्याट्री कोलकतासम्म आइपुगेको र अन्य उपकरण पनि आउँदै गरेको भट्टराईले सुनाए । ‘साइड क्लियरेन्स भइसक्यो,’ उनले भने, ‘अब २र३ सातामा सामग्री नेपाल आइपुगेपछि तीव्र गतिमा काम हुनेछ ।’ जुलाई १८ मा सम्झौता भएको उक्त काम आउने फ्रेबुअरीसम्म पूरा भइसक्ने छ । करिब १२ करोड रुपैयाँ लागतमा बस चार्जिङ स्टेसन बन्न लागेको हो ।

स्थानीयमा आक्रोश ;

लुम्बिनीका लागि आएका विद्युतीय बस एक्कासि काठमाडौं लगेर चलाउन थालेपछि यहाँ भने आक्रोश बढेको छ । दाताले सहयोग गरेका बस काठमाडौं लगेर चलाउँदा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी तथा स्थानीय आक्रोशित भएका छन् । फिर्ता नगरे विरोधको तयारी गरिएको लुम्बिनी पर्यटन व्यवसायी संघ अध्यक्ष हुसेनी लोधले बताए । सरकारले लुम्बिनीलाई प्रवद्र्धन गर्नभन्दा विवादमा तानेर यहाँका जनताको मन दुखाउने काम गरेको उनले बताए । ‘लुम्बिनीको प्रवद्र्धन भए समग्र मुलुकको हुन्छ,’ उनले भने, ‘त्यसैले व्यक्ति र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ ।’

लुम्बिनी आएका बस काठमाडौं लैजानु राम्रो नभएको लुम्बिनी विकास कोषका सदस्य अम्बिकाप्रसाद कोहरले बताए । ‘ढुक्क हुनुस्, ढिलोचाँडो ती बस फर्किन्छन्,’ उनले भने, ‘बोर्डको निर्णय नभई जानै सक्दैन ।’

दिन प्रतिदिनको धुलोधूँवाका कारण लुम्बिनीमा प्रदूषण बढदा विश्वमै नकारात्मक सन्देश गइरहेको पर्यटन व्यवसायी लीलामणि शर्माले बताए । त्यसलाई सम्बोधन गर्नुको साटो उल्टै बस सुटुक्क राजधानी भित्र्याउनु लाजमर्दो भएको उनको भनाइ छ ।

भैरहवामा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएलगत्तै बस पुनस् लुम्बिनी क्षेत्रमै चलाउने कोषका निमित्त सदस्यसचिव भट्टराईले बताए । लुम्बिनी आउने पर्यटकलाई सेवा दिनकै लागि ती बस ल्याइएकाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नहँुदासम्म काठमाडौंमा चल्ने उनले जनाए । चार्जिङ स्टेसन लुम्बिनीमा रहेकाले दीर्घकालीन रूपमा ती बस काठमाडौंमा चल्न नसक्ने उनको दाबी छ । बस काठमाडौं गएको विषयमा कोषको आधिकारिक धारणा बैठक बसेरमात्रै आउने उनले बताए । त्यसका लागि कात्तिक २५/२६ तिर लुम्बिनीमा मन्त्रीसहितको बोर्ड बैठक बस्न लागेको छ ।

बस अहिले काठमाडौं गए पनि भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने समयसम्म फर्कने कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले बताए । लुम्बिनी आउने पर्यटकलाई सुविधा दिन ती बस बुद्धस्थल परासीको रामग्रामदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तिलौराकोटसम्म चल्ने गरी रुट बनाउने विषयमा छलफल भइरहेको छ ।

थप बस पनि आउँदै :

आउन बाँकी ३ मध्ये २ बस अहिले भारतको कोलकता आइपुगेका छन् । बाँकी बस, भ्यान र जिप पनि आउने क्रममा छ । गाडी आउँदासम्म यहाँ चार्जिङ स्टेसन पनि बनी सक्नेछ । त्यसपछि सरोकारवालासँग छलफल गरेर रुट तय गरिन्छ । फ्रेबुअरीसम्ममै सबै बस यहाँ ल्याइसक्ने समय सीमा छ । धूवाँ, धूलो र ध्वनिले प्रदूषित विश्व सम्पदा स्थल लुम्बिनीलाई जोगाउन एसियाली विकास बैंकको सहयोगमा ती बस नेपाल भित्रिएका हुन् । डेढ महिनाअघि मात्र चिनियाँ कम्पनीले २ वटा बस नेपाल भित्र्याएको थियो ।