पत्रपत्रिका

३२ हजार कर्मचारी अान्दोलनमा

काठमाडौं । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रूपमा कार्यरत ३२ हजार कर्मचारी पुन: आन्दोलनमा उत्रिएका छन्।

नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचारअनुसार सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबार केन्द्रित आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिए। नयाँ संरचना अनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिँदै आएका छन।

आफूहरुलाई स्थायी प्रकृयामा लैजानुपर्ने, स्थायी प्रकृया पुगेका ज्यालादारी कर्मचारीलाई उचित रकम उपलब्ध गराउनुपर्ने माग उनीहरूले गरेका छन्। सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिए।

छठसम्म माग पूरा नभए सशक्त आन्दोलनको विकल्प नभएको उनले बताए।