खेलकुद

साफ यू–१५ मा सेमिफाइलनका दुवै खेल बिहीबार

काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल बिहीबार हुने भएका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह ‘ए’को विजेता बङ्गलादेश र समूह ‘बी’को उपविजेता भारतबीच बिहान १०ः३० बजे हुनेछ । दोस्रो सेमिफाइनल समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच अपराह्न २ः३० बजे हुने एन्फाले जनाएको छ ।

समूह चरणमा एक हार र एक जीत निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । भारत पनि सोही नतिजाका साथ सेमिफाइनल पुगेको हो भने पाकिस्तान र बङ्गलादेश समूह चरणका दुवै खेल जित्दै सेमिफाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाएका छन् । भुटान र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिइसकेका छन् ।
सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको थियो । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताका चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

पेन्टाथोलनमा नेपाललाई दुई कास्य पदक

इजिप्टमा सम्पन्न पेन्टाथोलन (पाँच खेलको एउटा सङ्गठन) को वल्र्ड च्याम्पियनपिपमा नेपाल दुई कास्य पदक ल्याउन सफल भएको छ । यही कात्तिक ८ देखि ११ गतेसम्म इजिप्टमा सम्पन्न उक्त प्रतियोगितामा यू–१९ उमेर समूहको मिक्स रिले (सुटिङ, पौडी र दौड इभेन्ट) मा नेपालका राहुल दर्शन र सलोनी लामाको जोडीले कास्य पदक जितेको सङ्घका उपमहासचिव इन्दिरा निरौलाले जानकारी दिए ।
सो समूहमा कजाकिस्तानले स्वर्ण र भारतले रजत जितेका छन् । नेपाल रहेको समूहमा कजाकिस्तान, भारत, बेलायत, इजिप्ट र जर्मनी थिए । पदक जितेर खेलाडी नेपाल आएपछि मात्रै यो प्राप्त भएको हो । नेपाली टोली मङ्लबार राति काठमाडौँ आइपुगेको निरौलाले जानकारी दिए ।

प्रतियोगितामा नेपालबाट विभिन्न उमेर समूहका पाँच खेलाडीले सहभागिता जनाएका थिए । त्यसैगरी मुख्य प्रशिक्षकमा राजु दर्शन, सहायक प्रशिक्षकमा सुन्दर प्रजापति, टोली व्यवस्थापकमा भीम सुवेदी र अधिकृतमा रितेश श्रेष्ठको सहभागिता थियो । च्याम्पियनसिपमा विश्वभरका ३०० खेलाडीको सहभागिता थियो । ती खेलाडीलाई २४ समूहमा विभागजन गरी खेलाइएको थियो ।