अन्तर्राष्ट्रिय

सुडानी विद्रोही नेता जुबा फर्किए

उवा, सुडान । दक्षिण सुडानका विद्रोही नेता रीक माचर शान्ति सम्मेलनमा भाग लिन बुधबार दुई वर्षपछि राजधानी जुबामा आइपुगेका छन् । सन् २०१६ को जुलाईमा विदेश पलायन भएयता माचर दक्षिण सुडान फर्किए। जुबामा स्थानीय समय अनुसार बिहान ९:३० बजे उत्रिएका माचरलाई राष्ट्रपति साल्भा कीरले स्वागत गरेका थिए । कुनै समय परस्पर सहयोग रहेका दुबै नेताबीच पछिल्लो समय तिक्तता छ ।

दुबै नेताले एक कार्यक्रममा सहभागी भई हालैको शान्ति सम्झौतालाई स्वागत गर्ने कार्यक्रम रहेको छ । गत सेप्टेम्बरमा इथियोपियाको राजधानी आदिस अबाबामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । विद्रोही नेता माचर जुबामै रहनु हुन्छ वा हुन्न भन्ने अझै स्पष्ट भइसकेको छैन । उनका सहयोगीले सहरमा सुरक्षा व्यवस्थाका बारेमा चासो प्रकट गरेका छन् ।

यसअघि जुबा आउने भनिएका माचरका निजी सुरक्षाकर्मी र हातहतियारको विषयमा टुङ्गो नलाग्दा अन्तिम समयमा भ्रमण स्थगित भएको थियो । माचरका प्रवक्ता लाम पल गाब्रियलले माचरसँग करिब ३० जना राजनीतिक नेताहरु पनि हुने बताए । दक्षिण सुडानमा कीर माचरबीचको खटपटका कारण डिसेम्बर २०१३ मा गृहयुद्ध शुरु भएको थियो । जातीय स्वरुप धारण गरेको यो गृहयुद्धमा सामूहिक बलात्कार, सेनामा बालबालिकाको जबर्जस्ती भर्ती तथा नागरिकमाथि आक्रमणहरु भएका थिए । विश्वमै यसलाई पछिल्लो सबैभन्दा ठूलो मानवीय सङ्कटका रुपमा लिने गरिएको छ ।

दक्षिण सुडानले २२ वर्षसम्मको गृहयुद्ध पश्चात सन् २०११ मा स्वतन्त्र राष्ट्रको मान्यता प्राप्त गरेको थियो । गृहयुद्ध समाप्त गर्नेक्रममा धेरैवटा युद्धविराम र शान्ति सम्झौता भए पनि सुडान युद्धका कारण करिब ३ लाख ८० हजार मानिसको मृत्यु भएको थियो ।