समाचार

प्रदेश लोकसेवाको निष्पक्षतामा आशङ्का रहेको छ: अध्यक्ष मैनाली

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ऐनबाट बनाउन थालिएको प्रदेश लोकसेवा आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने बताए। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यसअघि ऐनबाट बनेका विश्वविद्यालयका आयोग र अन्य आयोगमाथि प्रश्नचिह्न उठिरहेको बेला प्रदेश लोकसेवा आयोग पनि अछुतो नहुने बताए ।

“ऐन संसद्को बहुमतबाट पास हुन्छ । प्रदेश संसद्ले ऐनको एउटा दफा परिवर्तन गरेर प्रदेश लोकसेवा आयोग आफू अनुकूल बनाउन सकिन्छ”, उनले भने, ‘‘त्यसैले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड तोकेर सङ्घको जस्तो निष्पक्ष भएर काम गर्न सक्ने बनाउनु पर्दछ । निष्पक्ष हुन नसकेको खण्डमा हामीमाथि पनि लाञ्छना आउन सक्छ ।”

उनले सरकारलाई प्रदेश लोकसेवा आयोगको मस्यौदा बनाएर बुझाए पनि त्यसभन्दा अगाडि कुनै काम अगाडि बढ्न नसकेको बताए । आयोगले सरकारको क्रियाकलापले संशोधन गरिएको तालिकामा पनि विज्ञापन हुने नहुनेमा शङ्का भएको उनको भनाइ रहेको थियो । “हामीले सरकारको आग्रहमा दुई महीना पछाडि विभिन्न पदको पदपूर्तिका लागि कार्यतालिका सारेका छौँ”, उनले भने, ‘‘समायोजन ऐन अध्यादेशबाट संशोधन गर्ने जस्ता सरकारको अहिलेको क्रियाकलापले दुई महीनामा पनि रिक्त दरबन्दीको विवरण पठाउन सक्दैन ।’’

अध्यक्ष मैनालीले सरकारले रिक्त दरबन्दीको विवरण नपठाए आफूसँग जति पदको विवरण आएको छ त्यति पदको मात्र विज्ञापन गर्ने जानकारी गराए । उनले प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म लोकसेवा आयोगलाई नै कर्मचारी भर्ना गर्ने कानूनी व्यवस्था रहेको भन्दै प्रदेश सरकारले विवरण पठाएको खण्डमा छ महीनाभित्र पदपूर्ति गरेर पठाउने बताए । राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसात् गर्न नसकेको उनको धारणा रहेको थियो ।