लुम्बिनी

अब हप्तामा तीन दिन मात्र उडान भर्ने

लमही । दाङको टरिगाउँ विमानस्थलमा अबदेखि हप्तामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सको डाँफे विमानले हप्तामा दुई दिन मात्रै दाङ–काठमाडौँ उडान भर्दै आएकामा अब हप्तामा तीन दिन उडान भर्ने भएको छ ।

आज सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमनी चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेपाल वायु कमर्सियल डाइरेक्टर टङ्क निधि दाहाल, कमर्सियल डिपार्टमेन्ट निर्देशक सञ्जय पन्त, डेपुटी डाइरेक्टर सबिना शाक्यसहितको टोलीले छलफल गरी टरिगाउँ विमानस्थलमा हप्तामा तीन दिन हवाई उडान भर्ने सहमति गरेका हुन् ।

यसअघि सोमबार र शुक्रबार मात्रै उडान भर्दै आएको भए पनि अबदेखि बुधबार पनि जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सका कमर्सियल डाइरेक्टर टङ्कनिधि दाहालका अनुसार मङ्सिर महीनाको पहिलो साताबाट सोमबार, बुधबार र शुक्रबार गरेर सातामा तीन पटक हवाई सेवा सञ्चालन हुने भएको हो । यात्रुहरुको मागअनुसार सातै दिन हवाई सेवा सञ्चालन गर्न सकिनेसमेत बताए ।

साथै उपमहानगरसँगको सहमतिमा सेवासुविधा पनि थप गरिने उनको भनाइ छ । सातामा तीन पटक हवाई सेवा सञ्चालन भएसँगै हवाई भाडा पनि घट्ने बताए । उपमहानगरपालिकाको पहलमा पछिल्लो समय असोज १९ गतेबाट नेपाल एयरलाइन्सको सानो जहाजले सातामा दुई पटक विमानसेवा सञ्चालन गर्दै आएको थियो । विमान सेवा सञ्चालन भएसँगै हवाई सेवाको प्रयोग गर्ने यात्रुलाई सहज भएको थियो । विमानस्थल सञ्चालन समितिका संयोजक सूर्यबहादुर डाँगीले अस्थायी इन्धन डिपो स्थापनाका लागि काम भइरहेको समेत बताए । २०११ सालमा पहिलो पटक उडान भरिएको टरिगाउँ विमानस्थल पटक पटक अनियिमत हुने गरेको थियो । इन्धन डिपो नहुँदा उडानमा समस्या पर्ने गरेको छ ।