समाचार

राष्ट्रिय भाषामा अतिक्रमण भइरहेको छ: कार्यवाहक राष्ट्रपति

काठमाडौँ । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताए । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गरेका अवसरमा आयोजित अभिनन्दन समारोहमा उनले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताए ।

कावा राष्ट्रपति पुनले भने, “नेपाल मै आयोजना हुने औपचारिक कार्यक्रम पनि सरकारी औपचारिक भाषालाई बिर्सेर विदेशमा भएका झैँ अङ्ग्रेजी भाषामा हुने गरेका छन् । सबै भाषा पढ्नुपर्छ, बोल्नुपर्छ, तर प्राथमिकता भने आफ्नै भाषालाई दिनुपर्छ ।” कावा राष्ट्रपति पुनले राष्ट्रकवि घिमिरेले राष्ट्रको भाषा साहित्यमा गरेको योगदान अविस्मरणीय रहेको र उनका कृति कालजयी र अमर रहेको उल्लेख गरे । कावा राष्ट्रपतिले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्रले अभिनन्दन गरेको थियो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रकवि घिमिरेले मुलुकको भाषा साहित्यका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै परिषद्ले स्थापनाकालदेखि नै स्रष्टालाई जीवित अवस्थामै सम्मान गर्ने प्रचलनको शुरुआत गरेको स्मरण गरे । वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले कवि घिमिरेका कृति राष्ट्रियताले ओतप्रोत भएको उल्लेख गर्दै उनका ‘अश्वत्थामा’ जस्ता कृतिलाई नोवेल पुरस्कारका लागि सरकारले सिफारिश गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा परिषद्का सचिव रमा शर्मा, कोषाध्यक्ष भीमबहादुर अधिकारी, सदस्यद्वय किरण थापा र लक्ष्मण थापाले परिषद्का अध्यक्षसमेत रहेका राष्ट्रकवि घिमिरेले मुलुकका लागि गरेको योगदानको चर्चा गर्दै परिषद्का काम कारवाहीबारे प्रकाश पारेको थियो ।