कर्णाली प्रदेश

हिंसाजन्य घटना न्यूनीकरणका लागि बालिका बचाऊ अभियान

दुल्लु । यौन दुव्र्यवहार र बलात्कारका घटना बढिरहेका बेला दैलेखका बालिकाले भने यस विरुद्ध अभियानमा जुटेका छन् । नारायण नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत बालिका यौन दुव्र्यवहारविरुद्ध एकताबद्ध भएर अभियानमा जुटेका हुन् ।

बालिका बचाऊ अभियानले सो विद्यालयमा गरेको कार्यक्रममा उनीहरुले बालिका बचाऊ विद्यालय समन्वय समिति गठन गरेर एकताबद्ध भएका हुन् । छ देखि १० कक्षासम्म अध्ययनरत बालिकाले सात सदस्यीय समिति गठन गरेका छन् । उनीहरुले आफ्नो समुदाय र विद्यालयमा बालिकामाथि हुने हिंसाजन्य घटना न्यूनीकरणका लागि काम गर्ने बालिका बचाऊ अभियान दैलेखका संयोजक सजना सुनारले जानकारी दिए । अभियानले बालिका जोखिमका कारण, यसको अवस्था र जोखिमबाट बच्ने बच्ने उपायका बारेमा सो विद्यालयमा प्रशिक्षण दिइएको थियो ।

बालिका तथा विद्यालय शिक्षकलाई यौन दुव्र्यवहार र बलात्कारका घटनामा हुने कानूनी कारवाहीबारे अधिवक्ता सर्वराज जोसीले जानकारी गराउनु भएको थियो भने सम्भावित यौन हिंसा तथा बलात्कारबाट बच्ने उपाय बारे कराते प्रशिक्षक खगेन्द्र सिंहले प्रशिक्षण दिएका थिए । बालिका कस्ता ठाउँमा जोखिममा पर्ने गरेका छन्, जोखिमबाट कसरी बच्नेलगायतका विषयमा अभियानका संयोजक सजना सुनारले प्रशिक्षण दिएकी थिइन् ।

सो अवसरमा दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बालिका बचाऊ अभियानले यौनजन्य तथा बलात्कारका घटना हुनै नदिनमा सहयोग पु¥याउने बताउँदै यौन हिंसा र बलात्कारविरुद्ध बालिका नै जागरुक हुनु आवश्यक रहेको धारणा व्यक्त गरे । अभियानकी संयोजक सजना सुनारले नारायण नगरपालिकालाई लक्षित गरिएको अभियान जिल्लाव्यापी बनाउन यहाँका ११ वटै स्थानीय तहसँग समन्वय गर्ने जानकारी दिए।