कृषि

किसानलाई अनुदानमा गहुँको बीउ दिइने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ ।

सहकारी संस्थासँग समन्वय गरेर सिफारिश गरिएको उन्नत जातको गहुँ बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाको कृषि विकास समितिले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउन सिफारिश गरेको थियो । तिलोत्तमा नगरपालिकामा झण्डै ७०० क्विन्टल गहुँको बीउ आवश्यक पर्ने अनुमान गरिएको छ । अनुदानको बीउ सबै किसानले प्राप्त गर्ने गरी व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।