पर्यटन/संस्कृति

नयाँ ‘वाइडबडी’ विमान पूर्ण क्षमतामा सञ्चालन, अझै पाएन नयाँ गन्तव्य

काठमाण्डाै । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको हो । अन्तर्राष्ट्रिय उडानमा पुरानै गन्तव्यमा उडान भर्दै आएका नयाँ विमानको पछिल्लो महीनामा ७४ प्रतिशत सिट भरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, कतारको दोहा र हङ्कङमा नियमित उडान भर्दै आएको छ । कूल २७४ सिट क्षमताको दुबै विमानको १८ साङ्ग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । दुबै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरीद गरेको हो ।

अझै पाएन नयाँ गन्तव्य :

निगमले तिहारलगत्तै चीन, जापान, दक्षिण कोरिया, साउदी अरेबियाको रियादमा सेवा शुरु गर्ने जनाए पनि नयाँ गन्तव्यको टुङ्गो नलाग्दा अहिले पुरानै गन्तव्यमा वाइडबडी उडान बाध्य भएको हो । उल्लेखित गन्तव्यमा सेवा सञ्चालनका लागि आवश्यक पहल भइरहेको निगमको भनाइ छ । ती गन्तव्यमा उडान सञ्चालनबारे पत्राचार एवं दुईपक्षीय छलफलसमेत भइसकेको छ । दक्षिण कोरियाले नेपालको उडान अडिट गर्न प्राविधिक टोली पठाउने जनाए पनि यकिन हुन सकेको छैन ।

नयाँ विमानले पुराना गन्तव्यमा पूर्ण क्षमताका साथ व्यावसायिक उडान भर्दै आएकाले बजारमा हल्ला आएजस्तो निगमलाई ठूलो आर्थिक भार नपरेको प्रवक्ता सिग्देलले बताए। निगमको पहिलो वाइडबडी अन्नपूर्ण गत असार १४ र दोस्रो वाइड बडी मकालु विमान साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । अन्नपूर्णले साउन १६ देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गरेको थियो भने मकालुले दुई महिनाअघिदेखि बैंककबाट व्यावसायिक उडान गरेको थियो । निगमले हाल नयाँदिल्ली, बैङ्गलोर र मुम्बई, हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, दुई वाइडबडी ‘ए’ ३३०–२०० र एयरबस ३२० सिरिजका दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ ९ विमानबाट सेवा दिइरहेको छ । तीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन ट्वीनअटर विमान छन्