पु.समाचार

निर्मला हत्या प्रकरण : थप ४ जनाको डिएनए परीक्षणका लागि नमुना संकलन

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन गरेको छ ।

मंगलबार शंकास्पद मानिएका ४ जनाको नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए । ‘चार जनाको डिएनए परीक्षणका लागि नमुना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाएका छौं’ घटनाको अनुसन्धान अधिकृतसमेत रहेका डिएसपी ओझाले भने, ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा रहेका उनीहरुको नमुना संकलन गरिएको हो ।’ उनले नमुना संकलन गरिएका व्यक्तिहरुको नाम र ठेगाना भने खुलाउन चाहेनन् ।

नमुना लिइएका व्यक्तिहरुलाई निगरानीमा राखिएको उनले जानकारी दिए । उनले शंकास्पद अन्य व्यक्तिको पनि नमुना संकलन हुन सक्ने बताए । प्रहरीले यसअघि पनि ५ जनाको नमुना परीक्षण गरिसकेको छ । यसअघि प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाटाका दिलीप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडुको पहिलो चरणमा डिएनए परीक्षण गरेको थियो ।

त्यसपछि आन्दोलनरत महिला अधिकारकर्मी र पीडित परिवारले शंका गरेका हालै बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरन र महेन्द्रनगरकै स्थानीय आयुश विष्टको नमुना परीक्षण गरिएको थियो ।