खेलकुद

कुनैहालतमा भक्तपुरमा रङ्गशाला बनेरै छाड्छः नेता बस्नेत

भक्तपुर । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०७४/०७५ मा स्थानीय, प्रदेश र सङ्घीय सरकारका कार्यालय र गैर सरकारी संस्थाबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रथम समीक्षा बैठकमा उहाँले प्रत्येक नगरपालिकामा पक्की सडक विस्तार, धार्मिक पर्यटकीय गन्तव्यको विकास, प्रत्येक खोलामा पुल, हनुमन्ते करिडोर निर्माण, अन्तर्राष्ट्रिय रङ्गशाला र खेलकुदका लागि कबर्ड हल निर्माणको क्रम अगाडि बढिसकेको बताए ।

पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका बस्नेतले विकासका सबै पूर्वाधार निर्माण गर्ने, शिक्षा र स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्ने, उज्यालो, सुरक्षित र शान्त भक्तपुर बनाउने अभियानमा हामी लागेको बताउँदै विकास विरोधीलाई परास्त गर्दै अबको चार वर्षमा भक्तपुरलाई नमूना जिल्ला बनाउने छौँ, भने ।

जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न कार्यालयको रुपमा अगाडि लैजानुपर्नेमा पनि उनले जोड दिए ।

प्रदेशसभा सदस्य शशीजङ्ग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले जिल्लाको विकासमा सबै दल र सबै पक्षले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जिल्लाको समग्र विकासका लागि समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले अधिकार प्रत्यायोजित गर्नुपर्नेमा जोड दिए।